रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा स्थित बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन्।
वडा बाल सञ्जाल वडा नं. ४ ले सिमानगरमा आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफूहरूमाथि आक्रमणको प्रयास गरेको बालबालिकाहरूले बताएका छन्।
वडा बाल सञ्जालले जन्मदर्ता नगरेका र विद्यालय भर्ना नगरेका बालबालिकालाई जन्मदर्ता र विद्यालय भर्ना गराउन घरघरमा अभियान संचालन गर्दै आएका थिए।
तिलोत्तमा नगरपालिकाले यसअघि नै तय गरेको कार्यक्रम अनुसार वैशाख २५ गतेसम्म नियमित कार्यक्रम गर्न बाल सञ्जाललाई अनुमति दिएको थियो।
सोही अनुरूप सिमानगरमा सञ्चालन भइरहेको कार्यक्रम सकिँदै गर्दा निर्वाचन आचारसंहिताविपरीत राजनीति गरेको भन्दै लक्ष्मणमल्ल सहितको टोलीले आक्रमणको प्रयास गर्नुका साथै हातपात गरेको वडा बाल सञ्जाल तिलोत्तमा ४ की अध्यक्ष आइस्मा खरेलले बताइन्।
बाल सञ्जालकी सदस्य मनधरा श्रेष्ठले मतदानका लागि उमेर नपुगेका बालबालिकाहरूको मतदाता नामावलीमा नाम दर्ता नै नभएको र जन्मदर्ता र विद्यालय भर्ना अभियानको लागि आएको भन्दा पनि आफूहरूलाई थर्काएको बताइन्।
‘बाल सञ्जालले बालबालिकाहरूलाई विद्यालय भर्ना गरौं, समयमा जन्मदर्ता गरौं भनेर अभियान चलाउँदा पनि राजनीतिक दलहरूसँग अनुमति लिनुपर्ने हो?, बालबालिकाको चेतनामूलक कार्यक्रमलाई पनि राजनीतिक रंग दिएर हातपात र आक्रमणको प्रयास गरियो हामीले न्याय पाउनुपर्छ,’ उनले भनिन्।
नेपाली कांग्रेसबाट तिलोत्तमा वडा नम्बर ४ का अध्यक्षका उम्मेदवार गोविन्द भुसालले बालबालिकालाई कुटपिटको प्रयास नभई बालसञ्जाललाई प्रयोग गरी विपक्षीहरूले मतदाता प्रभावित गर्ने काम गरेकोले त्यसलाई रोकेको मात्र बताए।
बाल सञ्जालले यसअघि पनि तिलोत्तमा ४ सिमानगरमा रहेको भूमिहीन सुकुम्बासी तथा विपन्न परिवारका बालबालिकालाई न्यायो कपडा वितरण र सचेतनामूलक कार्यक्रम गर्दै आएको थियो।
नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्न आफूहरूले सचेतनामूलक कार्यक्रम गर्दै आएको अध्यक्ष खरेलले बताइन्।
सहजकर्ताहरू लक्ष्मी ज्ञवाली, बालबालिका फोकल पर्सन मञ्जु थापासहित बालबालिकाहरू त्यहाँ पुगेका थिए।
बाल सञ्जालका नगर सचिव सचेत बस्नेतले लक्ष्मणमल्ल सहितको टोलीले कार्यक्रममा आफूहरूलाई नबोलाएको, अरू कसैको निर्देशनमा कार्यक्रम गरेको भन्दै अपशव्द र गालीगलौज गर्दै हातपातको प्रयास गरेको बताए।
सहजकर्ता लक्ष्मी ज्ञवालीका अनुसार बाल सञ्जालले हरेक महिना समुदायमा पुगेर कुनै न कुनै अतिरिक्त कार्यक्रम गर्दै आएको छ।
वैशाख पहिलो सातादेखि नै विभिन्न कक्षाको परीक्षा चलेको कारण वैशाखको अन्तिम साता भए पनि कार्यक्रम गर्न पुग्दा आफूहरूमाथि आक्रमणको प्रयास भएको उनले बताइन्।
नगरपालिकाका बाल फोकल पर्सन मञ्जु थापाले गत मंसिरमा मात्रै बालमैत्री घोषणा गरिएको तिलोत्तमा नगरपालिकाकै बालबालिकालाई कुनै राजनीतिक दलका कार्यकर्ताबाटै आक्रमणको प्रयास हुनु दुखद् रहेको र यसले राजनीतिक रूपमा समेत नराम्रो सन्देश जाने बताइन्।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले आक्रमण र हातपातको प्रयास गरेपछि बालबालिका र सहजकर्ताहरू भागेर वडा नं. ४ को वडा कार्यालयमा शरण लिन पुगेका थिए।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डे घटनाबारे प्रहरीलाई जानकारी गराउने बताए।