निर्वाचन आयोगले आफ्नो चुनाव चिन्ह बाहेक अन्य दलको झन्डा वा चिन्ह प्रयोग नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।
शनिबार आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारले अन्य राजनीतिक दलको झन्डा प्रयोग गरी मत माग्ने काम आचारसंहिता विपरीत भएको जनाएको छ।
‘निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भए भन्दा फरक ढंगले झन्डा र चिन्ह प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दल बाहेक अन्य दलको झन्डा तथा चिन्ह प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानून बमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन आयोग सबैमा आग्रह गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रचारप्रसार गर्दा उम्मेदवारहरूले अन्य दलको झन्डा प्रयोग गरेको भन्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत् आयोगमा उजुरी आएको प्रवक्ता शर्माले बताए।
आयोगले जारी गरेको आचारसंहितामा प्रचारप्रसार गर्दा ३x३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिन्हमात्र प्रयोग गर्न पाइन्छ।
त्यसबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था छ।
‘दलको एउटा झन्डा र एउटा चिन्ह प्रयोग गर्न सकिने भए तापनि अन्य दल तथा उम्मेदवारको झन्डा र चिन्ह प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।