राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन्।
राष्ट्रिय पत्रकारिता दिवस-२०७९ को अवसरमा शनिबार राष्ट्रपति भण्डारीले शितल निवासमा आयोजित एक समारोहमा सो कुरा बताएकी हुन्।
उनले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रूपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरिन्।
जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यमबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम हुने पनि उनले स्पष्ट पारिन्।
‘यसबेला हामी स्थानीय तह निर्वाचनको संघारमा उभिएका छौं। आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन संचालन हुनुनै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो,’ उनले भनिन्, ‘तसर्थ, आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमबाट योगदान पुर्याउनु पर्दछ।’
उनले थपिन्, ‘जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रूपमा साकार तुल्याउने काममा सफलता प्राप्त हुने कुरामा मैले विश्वास लिएको छु।’