प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका छन्।
अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको भन्दै उनले शंका उपशंका नगरी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।
सत्तारूढ पाँचदलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई जति विश्वास गरियो गठबन्धनको भविष्य पनि त्यति लामो हुने बताए।
‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो। शंका उपशंका नगरी गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताऔं,’ उनले भने, ‘गठबन्धनलाई जति विश्वास गरियो भविष्य पनि त्यति नै लामो हुन्छ।’
उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट रुपन्देही र दाङबासीले फाइदा लिने बताए।
‘एमसीसी परियोजनाबाट बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्मको सडक निर्माण र विद्युत प्रशारण लाइन निर्माण हुने भएकाले त्यसको लाभ सबैभन्दा धेरै यही क्षेत्रका बासिन्दाले लिन्छन्,’ उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक अस्थिरताको कारण उद्योग कलकारखाना खुल्न नसकेको उल्लेख गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धनलाई जिताउन आग्रह गरे।
संयुक्त चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आउने भनेर प्रचार गरिएपनि कार्यक्रममा उपस्थित थिएनन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने यसअघि नै बुटवलको कार्यक्रममा उपस्थित नहुने जानकारी गराइएको थियो। माओवादी केन्द्रको तर्फबाट बलदेव खनाल र नेकपा एकीकृत समाजवादीको तर्फबाट रामकुमारी झाक्रीले सम्बोधन गरेका थिए।