धनुषाको बटेश्वर गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।
गठबन्धनको प्रयास असफल भएपछि अन्तिम समयमा जसपाबाट उम्मेदवारी दिएका राजकिशोर महतोले कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन्।
जसपाबाट राजकिशोरले मात्र गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।
शनिबार बटेश्वर बजारमा आयोजित कार्यक्रममा उनले कांग्रेस उम्मेदवार महतोलाई आफ्नो समर्थन रहने घोषणा गरे।
आफूले जित्न नसक्ने अवस्थामा गठबन्धनभित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलर अनुसार कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको उनले बताए।
‘हामीले अन्तिम समयसम्म गठबन्धन गर्ने प्रयास गरेका थियौं तर सकेनौं। कार्यकर्ताको व्यापक दबाब आएपछि मैले उम्मेदवारी दिएँ। गठबन्धनभित्रकै अलि बलियो पार्टीलाई समर्थन गर्ने गठबन्धनको सर्कुलरपछि म पछि हटेँ,’ राजकिशोरले भने।
जसपा कार्यकर्तालाई गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे।
राजकिशोरको समर्थनपछि आफ्नो जीत सुनिश्चित भएको रामअशिषले दाबी गरे।
बटेश्वर गाउँपालिकामा कांग्रेस, नेकपा एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा छ।