काठमाडौं महानगरपालिकाका नेकपा (एमाले) तर्फका मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि युवाहरूलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताएका छन्।
‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थापितले भने,‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरूका लागि काठमाडौंमा ठाउँ नै छैन। म युवाहरूलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिन्छु।’
उनले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताए।
‘पहिलाको राजदरबारको वरिपरि लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैंचा देखेर युवाहरू प्रफुल्ल हुन्छन्,’ स्थापितले भने, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ।’
स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरिपरिको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाए।
‘युवाहरू साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा! काठमाडौं महानगर भन्दै खुसी हुन्छन्। यस्ता पार्क सहरभरि धेरै स्थानमा बनाउन सकिन्छ। ती पार्कमा आएका युवासँग तिमीहरूको योजना के छ? तिमीहरूको अपेक्षा के छ? भनेर घुलनशील गराउने योजना छ,’ उनले भने, ‘युवाहरूलाई प्रोत्साहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ’
उनले युवाहरूलाई उनीहरूको योग्यता, क्षमता र रूचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताए।
त्यसैगरी उनले तत्काल गुनासो सुन्न ‘क्विक रेस्पोन्स टिम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताए।
घर–घरमा स्वास्थ्य नारी कार्यक्रम
उनले अहिलेको काठमाडौंको मेयर निर्वाचित भएपछि अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरूको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गरे।
उनले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताए।
‘केही महिना वृहत् छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर-घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करिब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छौं,’ उनले भने, ‘त्यो टिमले कुन वडामा कति बिरामी र कस्ता प्रकारका बिरामी भनी अनुसन्धान पनि गर्नेछ। त्यही टिमले उहाँहरूको थप स्वास्थ्यका लागि सहजीकरण समेत गर्नेछ।’
उनले यस्ता पाँच–सात वटै स्वास्थ्यसम्बन्धी प्रष्ट योजना बनाएर अघि बढ्ने बताए।
ट्राफिक र फोहोर व्यवस्थापन
ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मातहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएपछि त्यो अभियानमा लाग्ने उनले बताए।
‘काठमाडौं महानगरपालिकामात्रै होइन उपत्यकाको ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने राज्यले ढल, खानेपानी, बिजुली लगायतको अधिकार स्थानीय तहलाई दिनुपर्छ,’ उनले भने, ‘म मेयर निर्वाचित भएपछि उपत्यकाका सबै स्थानीय तहलाई आत्मनिर्भर बनाउने गरी केन्द्र सरकारसँग अधिकार माग्ने कुराको नेतृत्व गर्छु। केन्द्र सरकारसँग स्थानीय सरकारले सामन्तसँग दासले माग्नु पर्ने जस्तो परम्पराको अन्त्य गर्नेछु।’