नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छमध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउन आग्रह गरेका छन्।
भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन उनले आग्रह गरेका छन्।
सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै देउवाले महिलालाई मेयरमा जिताउन आग्रह गरेका थिए।
‘भरतपुरमा रेनु र काठमाडौंमा सिर्जनालाई अत्याधिक बहुमतले जिताऔं,’ उनले भने, ‘राजधानीमै महिलालाई हरायो भने दुनियाँले के भन्लान्?’
उनले काठमाडौंमा फोहोर समस्या रहेकोले मेयर जितेको छ महिनाभित्र व्यवस्थापन गरिने पनि बताएका थिए।
‘धरानमा फोहोरबाट ग्यास निकालेको छ। काठमाडौंमा पनि फोहोरबाट ग्यास र बिजुली निकाल्न सकिन्छ,’ उनले भने।
उनले अहिलेको व्यवस्थाअनुसार कुनै एक दलको मात्रै बहुमत नआउने देखिएकोले चुनावी गठबन्धन गरिएको बताएका थिए।
उनले कुनै पनि हालतमा गठबन्धनलाई सफल बनाउनुपर्ने बताएका थिए।