नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालमा दुइटा गठबन्धन रहेकोले एक रोज्नुपर्ने बताएका छन्।
वाम-लोकतान्त्रिक र प्रतिगमन गठबन्धन रहेकोले एक रोज्नुपर्ने बेला आएको उनले बताए।
सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै उनले आफूहरू वाम-लोकतान्त्रिक गठबन्धनमा रहेको बताए।
‘अहिले दुइटा गठबन्धन छ, कुन रोज्ने? वाम-लोकतान्त्रिक आजसम्म प्राप्त उपलब्धि रक्षा गर्ने, संविधान जोगाउने हामी हौं,’ उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको प्रगिगामी गठबन्धन छ। त्यो दक्षिणपन्थी गठबन्धन हो। संविधानको मर्म र भावनाविपरीत बोल्ने गठबन्धन।’
उनले वाम-लोकतान्त्रिक गठबन्धनका पक्षमा देशव्यापी जनमत तयार पार्ने र उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने बताए।
‘हामी भ्रष्टाचार गर्दैनौं,’ उनले भने, ‘देश र जनता तथा समाजका लागि काम गर्छौं।’
उनले काठमाडौं महानगरका घरघरमा पुग्न उम्मेदवारहरूलाई आग्रह गरेका थिए। ३२ वडामै पुग्न उनले आग्रह गरेका थिए।