नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तागठबन्धनविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन बनाएको बताएका छन्।
सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै पौडेलले ओलीले बनाएका गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका थिए।
एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलबीच चुनावी गठबन्धन गर्ने सहमति भएको थियो। पौडेलले यसतर्फ संकेत गर्दै ओलीले पनि गठबन्धन गरेको बताएका छन्।
‘यो गठबन्धनको खिलापमा केपी ओलीले पनि गठबन्धन गर्नुभएको छ। क-कसलाई लिएर गठबन्धन गर्नुभएको छ अनुहार हेर्नुस्,’ उनले भने, ‘त्यो प्रतिगामीहरूको गठबन्धन हो। हाम्रो गठबन्धन प्रगतिशीलको हो, राजनीतिलाई स्थिरता दिन हो।’
उनले नेपालमा राजनीति स्थिरता नहुँदा विकास नभएको पनि बताए। आफूहरूकै कारणले नेपालमा राजनीतिक स्थिरता नआएको पनि उनको भनाइ थियो।
‘अरूलाई दोष दिएर के गर्ने, हामीले स्थिरताको क्षमता देखाउन सकेनौं,’ उनले भने। साथै उनले सत्तागठबन्धन भित्रैबाट ओलीलाई सहयोग गर्ने खेल भएको आरोप लगाए।
‘ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘हामी हँसिया हतौडामा भोट हाल्दैनौं, रूखमा हाल्दैनौं भनेर यहीँभित्रबाट उक्साउने काम भइरहेको छ।’