सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहसँगै एकै मञ्चमा बिहीबार पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ देखिए।
उनीहरू सबै गोरखामा जन्मिएका हुन्। गोरखा-काठमाडौं चुनाव प्रचारप्रसार समूहले उनीहरूलाई एकै मञ्चमा पुर्याएको थियो।
साथै कांग्रेस नेताहरू सुरेन्द्रराज पाण्डे, कमला पन्त, चिरञ्जीवि वाग्लेलगायत पनि कार्यक्रममा थिए।
कार्यक्रममा बोल्दै मेयर उम्मेदवार सिर्जनाले आफूले गोरखाबाटै राजनीति सुरू गरेको बताइन्।
‘पहिले न्याय नपाए गोरखा जानु भन्ने भनाइ थियो अब न्याय नपाए काठमाडौं महानगर आउनु भन्ने बनाउनुछ,’ सिर्जनाले भनिन्, ‘सफा काठमाडौं बनाउनुछ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सिर्जनाले मेयर जित्ने दाबी गरेका थिए। ‘यस्तो सालिन व्यक्तिलाई मेयर जिताउनुको विकल्प छैन,’ उनले भने।
उनले एमालेबाट मेयर उम्मेदवार रहेका केशव स्थापितप्रति लक्षित गर्दै 'म्याद गुज्रिसकेको औषधि' भएको बताए।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जनाले मेयर जित्ने बताएका थिए। ‘मैले पनि कांग्रेसबाट राजनीति सुरू गरेको हो,’ उनले भने, ‘सिर्जना सोही समयमा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।’
उनले हावादारी उम्मेदवारलाई काठमाडौंका जनताले मत नदिने बताएका थिए।
कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले सिर्जना विरासतबाटभन्दा पनि नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीति गर्दै आएको नेता भएको बताए।
कांग्रेस नेता तथा राष्ट्रिय सभा सदस्य कमला पन्तले सिर्जनाले मेयर जितेमा काठमाडौं महानगर व्यवस्थित बनाउने विश्वास व्यक्त गरेकी थिइन्।