सुर्खेतको भेरीगंगा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।
उनीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन्।
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन्।
भेरीगंगा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताएका हुन्।
त्यस्तै, कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगंगा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन्।
आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि कांग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।