पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै आफ्ना ८ जना सदस्यलाई नेपाली कांग्रेस रूपन्देहीले कारबाही गरेको छ।
पार्टीको विधानविपरीत गतिविधि गर्ने र निर्वाचनमा पार्टीलाई असहयोग गर्ने उनीहरूलाई साधारण सदस्य समेत नरहनेगरी नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको जनाएको छ।
रूपन्देहीमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत भइसकेका मातृकाप्रसाद यादवसहित पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिने ८ जनालाई कारबाही गरेको हो।
सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवारको टिकटको लागि लबिङ गरेका यादवले नेपाली कांग्रेसबाट उम्मेदवार बन्न नपाएपछि पार्टी छोडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनी जनता समाजवादी पार्टीबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुखका उम्मेदवार बनेका छन्।
नेपाली कांग्रेस रूपन्देहीको जिल्ला अनुशासन समितिले यादवसहित सैनामैना नगरपालिका वडा नं. २ का राजबहादुर क्षेत्री, बुटवल उपमहानगरपालिका वडा नं १ का नरेन्द्र बस्नेत, देवदह ६ का रुक्मागत भारती, देवदह १ का चाँद मोहम्मद खाँ, देवदह १२ का उदयराज केवट र विवेक विक, सिद्धार्थनगर नगरपालिका ३ का मोहम्मद कलाम मुसलमानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवार दिने र पार्टीलाई असहयोग गर्ने ८ जनालाई पार्टीको विधानको परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) बमोजिम साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उक्त समितिले जनाएको छ।