कलाकार सन्दीप क्षेत्रीले सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालको प्रशंसा गरेका छन्।
भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभामा सम्बोधन गर्दै उनले भने,‘मैले देखेको चितवन र अहिलेको चितवनमा केही परिवर्तन अवश्य महसुस गरको छु। म रेनु दाहाल नभनी रेनु दिदी भन्न चाहन्छु किनभन्दा दाहाल भन्दा कताकता बुवासँग सम्बन्ध जोडिएर आउँछ। म कमरेड प्रचण्ड ज्यूलाई के भन्न चाहन्छु भनें- ढुक्क हुनुहोस् छोरी गजबको पाउनुभएको छ।’
आफूले अहिलेसम्म कुनै पनि पार्टीको साधारण सदस्य समेत नलिएको उनले बताए। साथै कुन पार्टीलाई कस्तो सम्बोधन गर्नुपर्छ भन्ने समेत थाहा नभएको उनले बताए।
उनले आफू कार्यक्रममा आउनुभन्दा अघि आमासँग सल्लाह लिएको बताए।
‘मेरी आमाले मलाई भन्नुभयो, पार्टीको लागि जाने होइन, कुनै संगठनको लागि होइन तैंले देशको लागि बोल्ने हो। त्यो केटीले देशको लागि काम गरेकी छ। बोल्दा हुन्छ। त्यसपछि म ढुक्क भएँ। त्यसैले दिदीको कार्यक्रममा आएको हुँ।’