नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्।
आज भरतपुरमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले गफमा मानिसलाई भुलाउन सक्ने भएकोले ख्याल गर्न भनेका थिए।
‘केपी ओलीको मैले बखान गर्न जरूरी छैन। हजार जिब्रो भएका नाघले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन्। बयलगाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्।’
ओली महागफाडी भएको पनि उनको आरोप छ। ‘गफमा उनले पिएचडी गरेका छन्। गफमा मानिसलाई भुलाउन सक्छन्,’ उनले भने, ‘झुठोलाई साँचो भनेर अलमल्याउन सक्छन् होस् गर्नुहोला।’
उनले रेनु दाहालले भरतपुरमा राम्रो काम गरेको पनि बताएका थिए। गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरेका थिए।
अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै कुहिएको फर्सी भएको बताएका थिए। ‘फर्सी कुहिइसकेको छ। नखानुहोला, नसुघ्नुहोला, रोग लाग्ला,’ उनले भने।