जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्।
आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै श्रेष्ठले ओलीले विगतमा प्रतिनिधि सभा विघटन गरेको र पूरा नहुने योजना बाँडेको भन्दै आलोचना गरेका थिए।
साथै उनले आइ लभ यु केपी बा भन्नेहरूले सोच्नुपर्ने बेला आएको बताए।
‘कतिपय मानिसहरू, कतिपय युवाहरू भ्रममा छन्। उनीहरू भन्छन्- आइ लभ यु केपी बा। तपाईंहरूलाई थाहा छ? सर्पले दूध खाए पनि विष लाग्छ, केपीले म्वाइँ खाए पनि विष लाग्छ,’ उनले भने।
ओलीले लोकतन्त्र, संघीयताविरोधी लहर फैलाएको आरोप पनि उनले लगाए। ‘ओलीले सगरमाथामा धान फलाउँछु भन्न बेर छैन,’ उनले भने।
भरतपुरमा रेनु दाहाल मेयर भएपछि विकास भएको उनको दाबी थियो। स्थानीय चुनावमा जनताले एमालेलाई मत नदिने दाबी गरेका उनले सत्तागठबन्धनले दुई तिहाइ स्थानीय तह जित्नुपर्ने बताएका थिए।
यस्तै उनले रेनुलाई बाघको संज्ञा दिएका थिए। बाघ निस्केपछि स्यालहरू भाग्ने उनको भनाइ थियो।