नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन्।
चुनावको बेलामा गरिएको प्रतिवद्धता अनुसार काठमाडौंमा कति सफा भयो?, काठमाडौं कति सहज भयो यसको उत्तर महानगरबासीलाई दिनुपर्ने उनले बताए। आफ्नो प्रतिवद्धता पुरा भए नभएको सम्बन्धमा जवाफदेहिता लिन उनले आग्रह गरे।
‘घरदैलोमा जाँदै गर्दा यो खेर गएको पाँच वर्षको जिम्मा कसले लिने भन्ने बहस कांग्रेसका साथीहरुले तलसम्म गर्नैपर्छ। कसै न कसैले जिम्मा लिनैपर्छ। जिम्मा लिने अवस्था आएन भने जवाफदेहिताको राजनीति रहँदैन भन्ने कुरा हामीले तल भन्नुपर्छ’, उनले भने, ‘म यो आग्रह गर्न चाहान्छु। काठमाडौं महानगर चलाउन पाँच वर्षको जिम्मा पाएको नेकपा (एमाले) ले यसको पूरा जिम्मा लिनुपर्छ।’
उनले अगाडि भने, ‘चुनावमा मत माग्न आउँदै गर्दा पाँच वर्ष मैले यो यो गरेँ भनेर आएको छ? हाम्रो घरमा पठाएको पर्चा एकपल्ट पल्टाएर हेरौं। पाँच वर्ष अघि तपाईहरुले मेरो पार्टीलाई जिम्मा दिनुभएको थियो । मैले यो–यो कामहरु गरे। म पाँच वर्ष यो गर्न चाहन्छु। आउनु पर्ने होइन?’
चुनावमा कांग्रेस, एमाले जो जिताउँ जवाफदेहिता नरहने हो भने आवधिक निर्वाचनको अर्थ नहुने उनले जिकिर गरे।
‘यो निर्वाचनमा नेकपा (एमाले) ले उत्तर दिनैपर्छ। काठमाडौं कति सफा भयो?, काठमाडौं कति सहज भयो? उत्तर दिनैपर्छ। काठमाडौंलाई के बनाउँछु भनेको थियो, के–के बनाइयो? उत्तर दिनैपर्छ,’ उनले भने।
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारले महिलामाथि अपमान गरेको बताए। उनले महिला हुनुलाई नै अयोग्यताको रूपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए।
‘सिंगो नेपालको महिला, काठमाडौंको महिलालाई केही नेताहरु उभिएर प्रत्येक दिन ढिसमिस गर्नुभएको छ। कुनै एक जना व्यक्तिको कुरा होइन। कुरा एक जना महिलाको हो, जो आफैं आफ्नै नामबाट उभिन्छु, चिनिन्छु भन्ने प्रयत्न गर्दैगर्दै समाजको एउटा तप्का उभिएर त्यसलाई ढिसमिस गर्छ’, उनले भने, ‘आइडियामा आउ न। तिम्रो काठमाडौं बनाउने आइडिया मलाइ मन परेन भन। अथवा राजनीतिक क्षमतामा प्रश्न गर न। त्यो पनि पाइन्छ। तिमिसँग राजनीतिक क्षमता छैन भने त्यो पनि पाइयो। तिमीसँग राजनीतिक योग्यता छैन भने त्यो पनि पाइयो। तर तिमी यसकारणले गर्दा अयोग्य छौँ किनकि तिमी महिला हौँ भनेर भन्ने कुरालाई काठमाडौंको महिलाले उत्तर दिने कि नदिने यो पटकको चुनावमा?’
उनले अगाडि भने, ‘तपाईको घर छेउको महिला जसले सूर्यलाई मतदान गरेको हो त्यो महिलालाई यो पटक गएर भन्ने कि नभन्ने? यो कुनै एकजना महिलाको होइन, सिंगो काठमाडौंभरीका तमाम महिलाको अपमान हो। सूर्यमा मतदान गर्ने महिलाको पनि अपमान हो। उहाँसँगै हिँडीरहेको महिला उपमेयरको पनि अपमान हो। यो सबैको प्रत्युत्तर मतदानबाट गर्नुपर्ने छ।’
उनले नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताए। उनले एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे।