नेपाली कांग्रेसले केन्द्रबाट तय गरेर गर्न लागेका चुनावी सभाहरूमा पार्टीका पूर्वसभापति विमलेन्द्र निधि नजाने भएका छन्।
निधिको गृहजिल्ला धनुषामा पनि कांग्रेसले वैशाख २४ मा चुनावी सभा गर्दैछ।
चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत जाने केन्द्रीय कार्यालयले जनाएको छ।
वक्ताको नाम राख्दा पदाधिकारी भइसकेका नेताहरूको नाम समावेश नगरेको भन्दै निधि असन्तुष्ट छन्।
कांग्रेस धनुषा उपसभापति गणेश झाले निधि चुनावी सभामा नजाने बताए। ‘वक्ताको सूचीमा उहाँको नाम नै समावेश छैन,’ उनले भने, ‘उहाँ जानुहुन्न।’
तर निधि मधेश प्रदेशका विभिन्न जिल्लामा कांग्रेसले स्थानीयस्तरमा आयोजना गरेका सभामा भने गइरहेका छन्।
कांग्रेसले वैशाख २१ देखि २७ सम्म चुनावी सभा गर्ने भनेको छ। तर वक्ताहरूको नाम भने सहमहामन्त्रीसम्मका मात्रै लेखिएका छन्।
यसैबीच आज भरतपुरमा भएको सत्तागठबन्धनको चुनावी सभामा कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइराला आउने भनेर प्रचार गरिए पनि उनीहरू नजाने भएका छन्।