नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन्।
उनीहरूले नुवाकोट प्रहरी चौकीमा आज तोडफोड र आक्रमण गरेका हुन्। प्रहरी चौकीमा वाइसिएलका कार्यकर्ताले तोडफोड गरेका थिए।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका हुन्। यहाँ कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेका हुन्।
बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए। उनीहरूलाई वाइसिएल कार्यकर्ताले लखेटेका थिए। कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका छन्।
त्रिवेणी वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवारमा माओवादीबाट वाइसिएल जिल्ला अध्यक्ष जनक विश्वकर्मा छन्।
बुधबार दिउँसो पनि यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो। कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार हरिबहादुर खड्का छन्। माओवादीले कांग्रेसका उम्मेदवार चढ्ने गाडीका सीसा फुटाएको र झन्डा च्यातेको आरोप कांग्रेसले लगाएको छ।
डिएसपी विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए।
‘वाइसिएल र तरूण दलबीच झडप भएको छ। तरण दलका कार्यकर्ता चौकी पुगेपछि वाइसिएलले बाहिर निकाल्न भनेका छन्। ढुंगामुडा भएको छ,’ उनले भने। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।