२०७४ को स्थानीय तह निर्वाचनमा रोल्पाका १० पालिकाध्ये ७ वटा माओवादी केन्द्र, दुई वटा एमाले र एउटा नेपाली कांग्रेसले जितेको थियो।
यसपटक सबै दल पहिले जितेका पालिकामा साख जोगाउने र थप जित्ने प्रयासमा छन्।
उम्मेदवारको चिन्ह पाएलगत्तै दलहरू चुनावी अभियानमा जुटेका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकासहित थवाङ गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका र गंगादेव गाउँपालिका जितेको थियो।
यस्तै त्रिवेणी र रूण्टीगढी गाउँपालिकामा एमाले तथा लुङ्ग्री गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भएको थियो। यसपटक जिल्लाका अधिकांश पाकिलामा माओवादी केन्द्र एकातिर र कांग्रेस, एमाले तथा विप्लव नेतृत्वको नेकपाका अर्कोतिर कित्ताबन्दी भएर चुनावी प्रतिस्धर्पामा उत्रिएका छन्।
माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्वसभामुख ओनसर्री घर्तीमगर, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी तथा कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गृह जिल्ला रोल्पाको चुनावी माहोल तात्तिएको छ।
नेताहरुको प्रतिष्ठाको विषय भएकाले उनीहरुले आ–आफ्ना उम्मेदवार जिताउन सक्रिय भएर लागेका छन्।
कुन दलको अवस्था कस्तो ?
रोल्पा नगरपालिका
रोल्पाको एक मात्र नगरपालिका हो रोल्पा नगरपालिका। उक्त नगरपालिकामा यसअघि माओवादी केन्द्रबाट कृष्णबहादुर महराका ज्वाईँ पूर्ण केसी मेयरमा विजयी भएका थिए। यसपटक माओवादीले सुरेन्द्र घर्तीमगरलाई मेयर पदमा उम्मेदवार बनाएको छ।
अघिल्लो चुनावमा पनि घर्तीले मेयरमा दाबी गरेका थिए। तर, अन्तिम समयमा आएर उनी महराको आग्रहमा पछि हटेर केसीलाई सघाए। केसी ५ हजार ६ सय ३४ मतसहित मेयर निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वसांसद लेखनाथ आचार्यले ३ हजार ८ सय २८ मत ल्याए। एमालेकी मिना शर्माले ४ सय ७८ मत पाएकी थिइन्।
यसपटक माओवादी केन्द्रका उम्मेदवार घर्तीलाई नेकपा एकीकृत समाजवादीले समेत समर्थन गरेको छ। कांग्रेसले रोल्पाको मेयरमा जिल्ला सचिव शेरबहादुर थापा र एमालेले पूर्वमानवअधिकारकर्मी घनश्याम आचार्यलाई उठाएको छ।
थवाङ गाउँपालिका
माओवादी सशस्त्र जनयुद्धको आधार क्षेत्र थवाङको चुनावले जिल्लाका सबैको ध्यान तानेको छ। थवाङमा २०७४ को निर्वाचनमा अध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर घर्ती विजयी भएका छन्। घर्ती १ हजार ९ सय ९० मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी विप्लव नेकपाका अमित घर्तीमगरले १ हजार ५७ मत ल्याएका थिए। घर्तीलाई कांग्रेस र एमालेको पनि समर्थन थियो।
यसपटक माओवादीले ऋषिकेशव बुढामगरलाई अध्यक्षको उम्मेदवार बनाएको छ। थवाङमा यसपटक पनि कांग्रेस, एमाले र विप्लव नेकपाले माओवादीविरुद्ध गठबन्धन गरेका छन्। अघिल्लो निर्वाचनका प्रत्यासी विप्लव समूहका अमित घर्ती नै यसपटक पनि तीन दलका साझा उम्मेदवार छन्।
सुनिल स्मृति गाउँपालिका
सुनिल स्मृति गाउँपालिका अध्यक्षमा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका गुणेन्द्र घर्तीमगर विजयी भएका छन्। गुणेन्द्र ४ हजार १ सय ५५ मतसहित विजयी हुँदा निकटत प्रतिद्वन्द्वी कांग्रेसका शेरचन महराले ३ हजार ६० र एमालेका खिमचन्द्र पुनले १ हजार १९ मत ल्याएका थिए।
यसपटक माओवादी केन्द्रले मणिराम बुढाथोकी, कांग्रेसले गञ्ज महरा, एमालेले तारा सेन र विप्लव नेतृत्वको नेकपाले कमल थापालाई अध्यक्षमा उम्मेदवार बनाएको छ। माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहले तालमेलको प्रयास गरेका थिए। तर, कांग्रेसभित्रको आन्तरिक किचलोका कारण घोषित गठबन्धन भएन।
आन्तरिक रूपमा भने कांग्रेस र एमालेबीच तालमेल भएको छ। कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने अनौपचारिक सहमति दुई दलबीच छ।
परिवर्तन गाउँपालिका
परिवर्तन गाउँपालिका अध्यक्ष अघिल्लोपटक माओवादी केन्द्रले जितेको थियो। माओवादी केन्द्रका निमकान्त डाँगी ४ हजार ६ सय ८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झक्कुप्रसाद घर्तीमगरले १ हजार ९ सय ८९ मत पाएका थिए। यस्तै एमालेका लोकेन्द्र घर्ती ६ सय ५९ मतसहित तेस्रो भए।
यसपटक माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा सुकबहादुर बुढामगरलाई उम्मेदवार बनाएको छ। कांग्रेसबाट रोल्पा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विश्वकुमार चन्द उम्मेदवार छन्। २०७४ मा प्रदेशसभामा उम्मेदवार रहेका चन्द केसी समय कांग्रेस परित्याग गरेर राजनीतिबाट निस्क्रिय भएका थिए। उनलाई एमाले, विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन्।
एमालेका गंगाराम (हितमान) बुढा र विप्लव नेकपाका लालबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएर चन्दलाई समर्थन गरेका छन्। गाउँपालिकामा माओवादीविरुद्ध चार दलले गठबन्धन गरे पनि वडा नम्बर–२ बाहेक सबैमा एकल प्रतिस्धर्पामा उत्रिएका छन्।
माडी गाउँपालिका
सदरमुकाम लिवाङपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र रहेको माडीको अध्यक्षमा यसअघि माओवादी केन्द्रका नन्दबहादुर पुनमगर ३ हजार १ सय ८२ मतका साथ विजयी भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र विप्लव नेकपाले माओवादीविरुद्ध गठबन्धन गरेका थिए। गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गोपाल घर्तीले २ हजार ६ सय ११ मत ल्याए। यसपटक माओवादीले अमरसिंह घर्तीमगरलाई अध्यक्षको उम्मदवार बनाएको छ। माओवादी केन्द्रविरुद्ध यसपटक पनि कांग्रेस, एमाले र विप्लव समूहले गठबन्धन गरेका छन्। गठबन्धनका तर्फबाट एमालेका विजय घर्तीमगर अध्यक्ष र कांग्रेसका कृष्ण विक उपाध्यक्ष उम्मेदवार छन्।
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका अध्यक्षमा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका आशबहादुर पुनमगर विजयी भएका थिए। पुन २ हजार ५ सय ५१ मतसहित विजयी हुँदा कांग्रेसका दुर्गे बुढामगरको १ हजार १ सय ३६ र एमालेकी रिमा सुवेदीको ९ सय ४७ मत थियो।
यसपटक माओवादी केन्द्रले धनबहादुर पुनगमरलाई अध्यक्षमा उम्मेदवार बनाएको छ। उनलाई नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ। माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन्। कांग्रेस र एमालेको समर्थनमा विप्लव नेकपाका पुस्तमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। राप्रपाबाट टेकेन्द्र घर्ती पनि अध्यक्षका उम्मेदवार छन्। मंगल नेशनल अर्गनाइजेशनका तर्फबाट पनि उम्मेदवारी परेको छ।
गंगादेव गाउँपालिका
२०७४ को निर्वाचनमा गंगादेव गाउँपालिका माओवादी केन्द्रले जितेको थियो। माओवादी केन्द्रका वीरबहादुर खत्री २ हजार ४ सय १४ मतसहित विजयी भएका थिए। एमालेका रोशनकुमार वलीले २ हजार २ सय ९० र कांग्रेसका हरिबहादुर पुनमगरले २ हजार २ सय ६१ मत ल्याए। एमालेका वलीलाई विप्लव समूहको समर्थन थियो। माओवादीबाट यसपटक पनि निवर्तमान अध्यक्ष खत्री नै उम्मेदवार छन्।
आफूले जितेका ७ मध्ये गंगादेवमा मात्र माओवादीले पुरानैलाई अघि सारेको हो। गंगादेवका कांग्रेस र एमाले उम्मेदवार पनि पुरानै छन्। यसपटक पनि कांग्रेसले हरिबहादुर पुनमगर र एमालेले रोशन वलीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। विप्लव समूहबाट केन्द्रीय सदस्य चुडामणि वली उम्मेदवार छन्। उनी अघिल्लो निर्वाचनमा एमालेका रोशन वलीको चुनाव प्रचारमै खटिएका थिए।
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका अध्यक्ष २०७४ मा नेकपा एमालेले जितेको थियो। एमालेका शान्तकुमार वली ३ हजार ३ सय ३३ मत ल्याएर विजयी भए। वली ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फराकिलो अन्तरले पराजित भएका थिए।
दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद बुढामगरले ३ हजार १ सय १२ र कांग्रेस उम्मेदवारले ९ सय ४८ मत पाए। कुलानन्द गिरी माओवादीबाट बागी उम्मेदवार थिए। गिरीले ५ सय ७८ मत ल्याए। पहिलो र दोस्रो हुने उम्मेदवारबीचको मतान्तर हेर्दा गिरी बागी नभएको भए त्रिवेणी माओवादीले जित्ने थियो। बागीका कारण पराजित हुनुपरेको निष्कर्षमा रहेको माओवादी यसपटक अघिल्लो हारको बदला लिने दाउमा छ।
स्थानीय रुपमा लोकप्रिय मानिएका एमाले नुवागाउँका नेता शान्तराज बोहरालाई पार्टीमा भित्र्याएको माओवादीले वडा नम्बर–२ को अध्यक्ष उम्मेदवार बनाएको छ। बोहरालाई एमालेबाट पार्टीमा ल्याइएको र बागी पनि नभएकाले यसपटक आफ्नो अवस्था सुदृढ रहेको दाबी माओवादीको छ।
माओवादी केन्द्रबाट रेशम पुनमगर र नेकपा एकीकृत समाजवादीबाट लालबहादुर खत्री अध्यक्षका उम्मेदवार छन्। कांग्रेस र एमालेले भने यसपटक गठबन्धन गरेका छन्। कांग्रेसले एमालेका कर्ण बाँठामगरलाई अध्यक्षका सघाएको छ। उपाध्यक्षमा भने कांग्रेसका जानकी बुढा उम्मेदवार छन्। यसअघि पहिलो दल रहेको एमाले र तेश्रो दल कांग्रेसबीच चुनावी तालमेल भएका कारण त्रिवेणीमा कडा प्रतिस्धर्पाको अवस्था देखिएको छ।
रूण्टीगढी गाउँपालिका
२०७४ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्धर्पाबीच एमालेका बालाराम बुढामगर ३ हजार ४ सय २ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसका टेकबहादुर बस्नेतले ३ हजार २ सय ७९ र माओवादी केन्द्रका गोविन्द पुनमगरले ३ हजार १ सय ८ मत ल्याएका थिए।
माओवादीले यसपटक पनि गोविन्द पुनमगरलाई नै अध्यक्षमा उम्मेदवार बनाएको छ। माओवादीलाई नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। एमालेबाट यमबहदुर दशौदी र कांग्रेसबाट जनक पुनमगर उम्मेदवार छन्।
लुङ्ग्री गाउँपालिका
लुङ्ग्री गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको रोल्पा जिल्लाको एक मात्र स्थानीय तह हो। कांग्रेसका दुर्गाबहादुर खड्का ३ हजार १ सय २५ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तुलाराम खड्काले २ हजार ९ सय १० मत पाउँदा कांग्रेसका दिलबहादुर गुरुङले १ हजार १ सय र राप्रपाका राजेन्द्र बुढाथोकीले ८ सय ४२ मत ल्याएका थिए। यसपटक कांग्रेसबाट जनक खड्का, माओवादी केन्द्रबाट भरत थापा, एमालेबाट वीरबहादुर खड्का उम्मेदवार छन्।
विप्लव नेतृत्वको नेकपाबाट भुपेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसपटक उम्मेदवारी नदिएको राप्रपाको भोट तान्न सक्ने उम्मेदवारले निर्वाचन जित्ने सम्भावना छ। कतै सत्ता गठबन्धन र कतै एमालेसँग गठबन्धन गरेको राप्रपा लुङ्ग्री गाउँपालिकामा भने तटस्थ बसेको छ।