सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगेका छन्।
उनी चितवन पुगेपछि विमानस्थलबाट होटलसम्म जान निजी सवारी साधन चढेका थिए। चुनावी प्रचारका कार्यक्रममा गएकोले निजी गाडी प्रयोग गरिएको देउवाको सचिवालयले जनाएको छ।
भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन्। उनीहरूलाई मत माग्न आज केन्द्रीय बस टर्मिनलमा चुनावी सभा आयोजना गरिएको हो।
चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर गरिएको छ।
यसैबीच सभापति देउवाले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललगायतसँग पनि कुराकानी गर्ने भएका छन्।