पोखरा महानगरपालिका वडा नम्बर १३ का किरण बराल कक्षा ८ मा पढ्दादेखि नै नेपाली कांग्रेसको आमसभामा कविता वाचन गर्थे।
२०५६ सालको संसदीय निर्वाचनमा कांग्रेस नेता महादेव गुरुङलाई जिताउन आयोजित सभाहरुमा उनले कविता वाचन गर्दै हिँडे।
कांग्रेसले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई ल्याएर पोखराको चिप्लेढुङ्गामा बृहत आमसभा आयोजना गर्यो। त्यहाँ पनि किरण कविता वाचन गर्न पुगे।
बालक किरणको कविता सुनेर गिरिजा दंग परेका थिए। मेहनत गरेर पढ्न सुझाए। महादेवले चुनाव जिते। कांग्रेस नेतृत्वको सरकार थियो। गिरिजाले बालक किरणलाई ८ कक्षा पढ्दा–पढ्दै अन्तर्राष्ट्रिय सम्मेलनमा जाने अवसर मिलाइदिए।
पाकिस्तानमा आयोजित पर्वतारोहण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट ३ जना विद्यार्थीले भाग लिन पाए। जहाँ किरणले पनि सहभागिता पाए। पाकिस्तान पुगेर रेशम फिरिरि बोलको गीत सुनाएको उनलाई अझै पनि सम्झना छ।
त्यतिबेला अन्य देशका सहभागीले ‘वान्स मोर’ भनेको उनले अझै बिर्सिएका छैनन्। एसएलसी सकेर पोखराकै पृथ्वीनारायण क्याम्पसमा भर्ना भएपछि किरण औपचारिक रुपमै राजनीतिमा सक्रिय हुन थाले।
कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध भएका उनी स्ववियु सदस्य उठे। एमाले निकट अनेरास्ववियुको बर्चस्व भएको पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म कांग्रेसले नेतृत्व लिएको छैन। किरणले चुनाव हारे।
कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकिकरण भएपछि स्ववियुको फेरी निर्वाचन आयो। पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि उनले २०६३ मा टिकट पाए। तर उनी उम्मेदवार उठेनन्। किनकी उच्च शिक्षा अध्ययन गर्न उनी अष्ट्रेलिया जान लागेका थिए।
‘मैले पाएको स्ववियु सभापतिको टिकट रामप्रसाद अधिकारीलाई दिँए, चुनावभर प्रचारप्रसारमा खटिए,’ किरणले भने, ‘चुनावको मतगणना सकिनासाथ अष्ट्रेलिया गएँ।’
त्यतिबेलाको चुनावमा पनि कांग्रेस उम्मेदवार पृथ्वीनारायण क्याम्पसको स्ववियुमा हारे। एमालेका रश्मी आचार्य स्ववियु सभापति निर्वाचित भए। उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेपछि उनका दु:ख सुरु भयो। भाँडा माझ्नेदेखि शौचालय सफा गर्नेसम्मका काम गरे।
‘कुनै पनि काम ठूलो सानो हुँदैन,’ उनले भने, ‘काम गरेर सानो पनि भइँदैन।’ अहिले जस्तोसुकै काम गर्न आफूलाई अप्ठ्यारो नलाग्ने किरणले बताए। अष्ट्रेलिया हुँदा पनि उनले कांग्रेसको काम गर्न छाडेनन्।
कांग्रेसनिकट जनसम्पर्क समितिको महामन्त्री भएर काम गरे। अष्ट्रेलियामा ८ बर्ष बसेर नेपाल फर्किएपछि किरणले पोखरामा राजनीति र व्यवसाय सँगसँगै अघि बढाए।
२०१७ मा नेपाल फर्किएका ३६ वर्षीय किरण राजनीति गर्ने व्यक्ति उद्यमशील हुनुपर्ने धारणा राख्छ। ‘आम्दानीको कुनै स्रोत छैन भने त्यो व्यक्ति राजनीतिमा भ्रष्टाचारतर्फ उन्मुख हुन सक्छ,’ उनले भने, ‘कुनै न कुनै उद्यमशीलता हुनुपर्छ।’
वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा किरण पोखरा–१३ मा वडा अध्यक्षका उम्मेदवार छन्। कांग्रेसबाट वडाअध्यक्षको टिकट पाएका उनले चुनाव जिते पनि हारे पनि राजनीतिमार्फत समाजसेवामा सक्रिय भइराख्ने प्रतिवद्धता जनाए।
कांग्रेसको गएको अधिवेशनमा कास्कीबाट सर्वाधिक मत पाएर प्रदेश प्रतिनिधी बनेका किरणले वडाबासीको घरदैलोमा सेवा दिने प्रतिवद्धता जनाएका छन्। उक्त वडामा २०३५ सालमा खुलेको अरुण पुस्तकालयलाई आधुनिक पुस्तकालय बनाउने उनका योजना छन्।
वडाका सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गर्ने घोषणा गरेका छन्। यसअघि पोखरा महानगरमा राम्रो काम गरेको भनेर स्वाबासी पाएका वडा अध्यक्ष दर्शन लामा सोही वडाका हुन्।
एमालेबाट निर्वाचित लामाको क्षेत्रमा चुनाव जित्न किरणलाई गाह्रो छ। त्यसमाथि उक्त वडामा कांग्रेसबाटै बागी उम्मेदवारसमेत छन्। ‘वडाबासीको घरदैलोमा पुग्दा थाहा भयो उहाँहरुको यति धेरै समस्या रहेछन्,’ किरणले भने, ‘चुनावपछि घरदैलोमै पुगेर समस्याको समाधान गर्छौ, महानगरको सेवा सुविधा छिटो छरितो बनाउनेछौं।’