निर्वाचन आयोगका पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
बुधबार दिउँसो आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतका पदाधिकारीहरू राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन्।
राष्ट्रपति भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे चासो राखेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
त्यसबारेमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन कार्यतालिका अनुसार नै चलिरहेको र अन्तिम चरणमा पुगेको बताएका थिए।
‘राष्ट्रपति भण्डारी ज्यूले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा रोजेको उम्मेदवारलाई मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयोग चनाखो रहनुपर्ने सुझाव दिनुभयो,’ अर्यालले भने।
प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शमसेर जबरा समेत शितल निवास पुगेका थिए।