काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रूपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ।
विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन्। लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन्।
त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतदाता सचेत देखिएका छन्। परम्परागत नेवारी बस्ती र सभ्यतासँग जोडिएको स्थल भएकाले पनि कीर्तिपुरको आफ्नै महत्व र विशेषता छ। भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै कीर्तिपुरवासीले स्थानीय तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग जमेर प्रश्न गरेका छन्। भौतिक तथा मानवीय विकासका लागि स्पष्ट कार्ययोजना के छ भनेर उम्मेदवारसँग जिज्ञासा राख्नेमा विजेन श्रेष्ठ पनि एक हुन्।
राजधानी नजिकको नगरपालिका भएर पनि मानवीय र भौतिक विकासमा पछाडि पर्नुको पछाडि ‘बत्ती मुनीको अध्यारो’ भने जस्तै त होइन भन्ने जिज्ञासा राखेको जानकारी दिँदै सुष्मलता महर्जनले निर्वाचनमा विजयी हुने उम्मेदवारले नगरवासीको मनोभावनालाई आत्मसात् गर्नुपर्ने बताउँछिन्।
निर्वाचित भएर गएपछि जनताको दैनिक समस्यासँग जोडिने जनप्रतिनिधिको खोजीमा देखिन्छन् कीर्तिपुरका मतदाता। पांगा दोबाटोमा भेटिएका स्थानीय मतदाताले एकै स्वरमा भने,‘विकास र समृद्धि हाम्रो चाहना हो। जनप्रतिनिधि सेवक बन्नुपर्छ। हामी त्यस्तै उम्मेदवारको पक्षमा छौं।’ नगरका प्रमुख क्षेत्रमा राजनीतिक दलका उम्मेदवारदेखि समर्थकले आआफ्ना पार्टीको पक्षमा मत माग्ने, केही सिर्जनात्मक ढङ्गले प्रचारप्रसार गरिरहेका भेटिन्छ।
आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर भएकाले पनि कीर्तिपुरले निरन्तर परिवर्तनको यात्रा तय गरेको छ। नेवार जातिको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर विसं २०५३ चैत १४ गते तत्कालीन आठ गाविस (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर गठन गरिएको हो। नगरपालिका ऐन, २०४८ अनुसार स्थापना भएको सो नगर मल्लकालदेखि नै कला र संस्कृतिले धनी छ।
आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ। लोकतान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनीय भूमिका खेलेको तथ्य कोही कसैले कसी लगाइदिनुपर्ने पनि छैन। व्यावसायिक रुपले पनि यस नगर विभिन्न औद्योगिक कलकारखानाका साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार उपलब्ध छ। नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ।
कीर्तिपुर सहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ। यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मी. छ।
कीर्तिपुर नगरमा कीर्तिपुरलगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँंलाफाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थानका रुपमा परिचित छन्। सहरको अधिकांश भाग कृषि क्षेत्र र जंगलले ढाकेको छ। यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास नभएको स्वयं कीर्तिपुर नगरपालिकाले स्वीकार गरेको छ।
कालोपत्रे सडक ३५ किलोमिटर, ग्राभेल सडक ४० किलोमिटर र कच्ची सडक ३५ किलोमिटर छ। नगरपालिकाले काठमाडौं चक्रपथलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम दुरीमा छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक सम्पदाले भरिपूणर् यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ।
नगरका बासिन्दा सबैभन्दा बढी कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल-व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आइरहेको पाइन्छ । यो नगर खुल्ला दिसामुक्त, पूर्ण साक्षर र पूणर्खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो।
विसं २०४६ को जनआन्दोलनमा कीर्तिपुरको भूमिका महत्वपूर्ण र ऐतिहासिक रहेको तथ्य नेपालको इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ। जनआन्दोलन उत्कर्षमा पुगेका बेला विसं २०४६ चैत २० गते चार जनाको शहादत प्राप्त भएको थियो।
प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको शहादत भएको थियो। चुनावी चहलपहल बढेसँगै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई श्रेष्ठ सावित गर्ने प्रयास गरिरहेका छन् ।
कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा ११ जनाको उम्मेदवारी छ। कूल २३७ जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुर नगरपालिकामा सत्तारुढ गठबन्धनका बीचमा सहमति हुन नसकेपछि आ-आफ्ना उम्मेदवार चुनावी मैदानमा छन्। चुनावी मैदानमा एमालेका केशरत्न बज्राचार्य, नेपाली कांग्रेसका राजकुमार नकर्मी र नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रा डा शिवशरण महर्जन, एकीकृत समाजवादीबाट बटुकृष्ण थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनलगायतले प्रमुख पदमा उम्मेदवारी दिएका छन्।
उपप्रमुखमा एमालेका बिन्दु महर्जन, कांग्रेस शुभलक्ष्मी शाक्य र माओवादी केन्द्रका सुशिला बस्नेत, एकीकृत समाजवादीका कमला महर्जनलगायतको उम्मेदवारी परेको छ। वडाध्यक्षका उम्मेदवारमा ५५, वडा सदस्यमा ९१, महिला सदस्यमा ४३ तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ। दलित महिला सदस्य मध्ये केही निविरोध निर्वाचित भइसकेका छन्।
माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार प्रा डा शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्थालगायतका विषय नै आफूहरुको प्रमुख एजेण्डा भएको जानकारी दिए। इटागोल (यतुगः) वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा भेटिएका महर्जनले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरवासीलाई समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको बताए।
विसं २०५५ मा तत्कालीन नेकपा (माओवादी) को विशेष उपत्यका ब्युरोको बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेता इटागोलमा एकहप्ता बसेकाले पनि यस टोल (माओवादी) पार्टीको लागि महत्वको रहेको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखको भूमिका निर्वाह गरेका प्रा डा महर्जनले आफू प्रमुखमा विजय भए आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गरिसकेका छन्। कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूर्ण योगदान छ।
उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेत विगतका असफलताबाट पाठ सिक्दै महिलाको अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरवासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्। कांग्रेसबाट प्रमुखको उम्मेदवार रहेका राजकुमार नकर्मी पनि मतदाताका बीचमा कीर्तिपुरको विकासका विविध योजनाहरु अघि सारेर गएको र सकारात्मक प्रतिक्रिया पाएको बताउँछन्। उपप्रमुखको उम्मेदवार शुभलक्ष्मी शाक्यले पनि आफूहरु निरन्तर निर्वाचन केन्द्रीत अभियान लिएर जनताको घर दैलोमा पुगेको जानकारी दिइन्।
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार केशरत्न बज्राचार्य पनि निर्वाचन अभियानमा लागेका छन्। अन्य तथा स्वतन्त्र उम्मेदवार पनि मतदातालाई आकर्षित गर्न लागिपरेका छन्। आर्थिक तथा अन्य औद्योगिक गतिविधिसमेत क्रमशः विस्तारित हुँदै गएको यस नगरका मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्लान् भन्ने जिज्ञासाको उत्तर भने वैशाख ३० गते नै दिनेछन्।
हालै मात्र सोही नगरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ। काठमाडौं तराई मधेश द्रूतमार्ग, काठमाडौं-हेटौंडा सडकलगायतले आर्थिक विकासलाई अगाडि बढाउन सहयोग पुगेको र यस नगरले खोजेको थप प्रगतिलाई राजनीतिक दलका उम्मेदवारले सम्बोधन गर्नेमा मतदाता ढुक्क देखिएका छन्।