सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल-टोलमा पार्क बनाउने बताएकी छन्।
आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उनले सुनाएकी छन्।
उनले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताइन्।
शिक्षक संघको महानगर समितिले आज गरेको छलफलमा उनले सबैलाई शिक्षा र सबैको पहुँमा स्वास्थ्य सेवा पुर्याउन काम गर्ने बताएकी छन्। उनले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न महानगरले पनि ध्यान दिने बताइन्।
उनले सुविधा सम्पन्न अस्पताल खोलेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने बताएकी छन्। ‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिन्छौं,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप घट्ने र अन्य अस्पतालको सेवा पनि सुधार हुँदै जाने उनको विश्वास छ।
उनले महानगरका ३२ वडामै जेष्ठ नागरिक भवन बनाउने बताइन्। ‘महानगरले व्यापारिक प्रयोजनका ठूला भवन बनाउँदैन,’ उनले भनिन्।