गोरखाको पालुङटारमा नेपाली कांग्रेस अन्तत: एक्लै चुनावमा जाने भएको छ।
केन्द्रको सहमतिअनुसार जनता समाजवादी पार्टीसँग चुनावी तालमेल हुन नसकेपछि कांग्रेसले अरू दलसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।
यो पत्र हेर्नुस्:
कांग्रेससँग चुनावी तालमेल गर्न जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दबाब दिएका थिए। पालुङटार भट्टराईको गृहनगर हो। उनले सत्तागठबन्धन बैठकमा पालुङटारको मेयर जसपाले पाउनुपर्ने अडान राखेका थिए। मेयरमा जसपाबाट प्रेम गुरूङ उम्मेदवार छन्।
भट्टराईको आग्रहपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले कांग्रेसका पालुङटार मेयर उम्मेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता लिएको पत्र निर्वाचन अधिकृत कार्यालयमा गत शुक्रबार पठाएका थिए। तर ढिला गरी पत्र पुगेको भन्दै उनको उम्मेदवारी कार्यालयले कायमै राखेको थियो।
जसपाले भने उपमेयर कांग्रेसलाई छाड्ने भन्दै वैशाख १६ मा उम्मेदवारी फिर्ता लिएको थियो। यसबीचमा केन्द्रको निर्देशन मान्न आफू तयार रहेको वक्तव्य कांग्रेसका मेयर उम्मेदवार कँडेलले निकालेका थिए। वक्तव्य निकाले पनि आफूले उम्मेदवारी फिर्ता नलिएको उनको जिकीर थियो।
हेर्नुस् विज्ञप्ति:
आज कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपानेले पालुङटार कांग्रेसलाई पत्राचार गर्दै एकल रूपमा चुनावमा जान निर्देशन दिएका छन्।
‘पालुङटारमा कांग्रेस एकल रूपमा निर्वाचनमा जाने भएकोले कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरूलाई निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन गर्दछु,’ सभापति न्यौपानेले नगर कार्यसमितिलाई पठाएको पत्रमा उल्लेख छ।
केन्द्रबाट कांग्रेस र जसपालाई गोरखाका दुई नगरपालिकामा गठबन्धन गर्न आग्रह गरिएको थियो। गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा उम्मेदवारी दर्तापछि पनि गठबन्धनका प्रयास भएका थिए।
‘पालुङटार र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने सम्बन्धमा दुबै दलको केन्द्रबाट प्राप्त निर्देशन बमोजिम जिल्लामा बैठक बसेर वडा तहसम्मको तालमेल गरी संयुक्त प्यानल बनाई निर्वाचनमा जाने विषयमा प्रयास गर्दा दुबै दलका नेता/कार्यकर्ताले एकल रूपमा चुनावमा जाने भनेपछि तालमेल सम्भव भएन,’ पत्रमा उल्लेख छ।
यसबीचमा नेकपा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल भएको पत्र बाहिरिएको थियो। गत वैशाख १७ मा जसपाले गोरखा नगरपालिकामा माओवादीसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो।
उक्त सहमतिअनुसार माओवादीका कृष्ण रानालाई मेयर छाड्ने र उपमेयरमा जसपाका नारायण खत्री हुने उल्लेख छ। यस्तै वडाहरूमा पनि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति दुई दलबीच भएको थियो।
यो सहमति भएको पत्र बाहिरिएपछि जसपा केन्द्रबाट जसपा गोरखालाई पत्र पठाएर कांग्रेससँग तालमेल गर्न निर्देशन दिइएको थियो।
वैशाख १९ मा जसपा वरिष्ठ नेता अशोककुमार राईले जसपा गोरखालाई पठाएको पत्रमा पालुङटार मेयरमा जसपालाई कांग्रेसले सहयोग गर्ने भएकोले गोरखा नगरपालिका मेयरमा कांग्रेसलाई सघाउन निर्देशन दिइएको थियो।
‘कांग्रेसले पालुङटार नगरपालिकाको प्रमुख पदमा जसपाका उम्मेदवारलाई सहयोग र समर्थन गर्ने तथा पालुङटार नगरपालिकाको उपप्रमुख र गोरखा नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवारलाई जसपाले सहयोग र समर्थन गर्ने सहमति र निर्णय भएको’ व्यहोराको पत्र राईले पठाएका थिए।
हेर्नुस् पत्र:
जसपाको केन्द्रबाट यो पत्र आउनु दुई दिनअघि नै जसपा र माओवादीबीच गोरखा नगरपालिकामा चुनावी तालमेलको सहमति भएको थियो। माओवादीसँग गरिएको सहमतिबाट जसपा पछि हट्न नचाहेपछि कांग्रेसले पालुङटारमा पनि मेयर छाड्न नसक्ने बताएको छ।
‘जसपाले आफ्नै पार्टी केन्द्रले भनेअनुसार गोरखा नगरपालिकामा मेयरमा कांग्रेसलाई सघाउने निर्णय गर्न सकेन। अब हामी धेरै कुर्दैनौं, एकल रूपमा चुनावमा जान्छौं,’ कांग्रेस गोरखाका एक पदाधिकारीले भने, ‘पालुङटारको हकमा पनि मेयर जसपालाई छोड्ने कुरै भएन। त्यहाँ चुनावी तालमेल गर्ने कुरा गर्दा केही वडा जसपाले छाड्न चाहेन।’
पालुङटार र गोरखा नगरपालिका दुबैमा ०७४ मा कांग्रेस उम्मेदवारले मेयर जितेका थिए। वैशाख ३० मा हुने चुनावमा माओवादी-जसपा गठबन्धनका उम्मेदवार र कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादीका उम्मदेवारबीच गोरखामा प्रतिस्पर्धा हुने भएको छ।
माओवादी र जसपाले गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा चुनावी तालमेल गरेका छन्। ११ पालिका रहेको गोरखामा अन्यत्र भने दलहरूबाट एकल उम्मेदवारी परेको छ।