स्थानीय चुनाव केन्द्रित सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन देशका विभिन्न ठाउँमा भएका ८० सभाहरूमा पुगेका छन्।
महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएसँगै उनले संगठन विस्तारलाई प्राथमिकता दिँदै देशका मुख्य सहरमा सभा गरेका थिए।
स्थानीय चुनावका लागि फागुन २६ देखि लिङ्देन देश दौडाहमा निस्केका थिए।
उनले हालसम्म ८० भन्दा बढी सभाहरू गरेका छन्। ५२ जिल्लाका ८० ठाउँमा सभा गरिएको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्।
काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा सभा गरिएको राप्रपाले जनाएको छ।
लिङ्देन आज झापा पुगेका छन्। मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न उनी झापा गएका छन्।
प्रवक्ता श्रेष्ठले पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताए।
‘हामी धेरै स्थानमा जित्दैछौ,’ उनले भने, ‘नजित्ने ठाउँमा पनि मत खेर फाल्दैनौं, लोकप्रिय मत जुटाउँछौ, लोकप्रिय मतको जगमा उभिएर प्रादेशिक र संघीय निर्वाचनको रणनीति बनाउँछौं।’