आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सम्पूर्ण शक्ति केन्द्रित गर्ने भएको छ।
केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै बैठकले गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने र एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागिपर्ने निर्णय गरेको छ।
बैठकलले गठबन्धन नभएको र एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरूद्ध मतदान गर्नेसमेत निर्णय गरेको छ।
यस्तै गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने बैठकले निर्णय गरेको छ।
नेकपा एकीकृत समाजवादीले महानगरपालिकामा पोखरा महानगरपालिकामा मेयर र काठमाडौं महानगरपालिकामा उपमेयर पाएको छ।