आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड ९२ लाख ४८० कुल जनसंख्यामध्ये १ करोड ७७ लाख ३३ हजार ७ सय ३३ मतदाताले मत हाल्न पाउनेछन्।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा एक साथ निर्वाचन हुँदैछ।
निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरूष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्यले यसपालि मतदान गर्न पाउने छन्।
आयोगका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै ३ लाख २ सय ४२ जना मतदाता रहेका छन्। ३२ वडा रहेको काठमाडौंमा १५६ मतदानस्थल अन्तर्गत ३६३ वटा मतदान केन्द्र छन्।
अघिल्लो स्थानीय तहमा काठमाडौंमा २ लाख ७९ हजार ३०६ जना मतदाता थिए भने १५६ मतदानस्थल अन्तर्गत ३४० वटा मतदान केन्द्र थिए।
काठमाडौंपछि धेरै मतदाता पोखरा महानगरपालिकामा छन्। यहाँ २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन्। पोखरा सबभन्दा बढी वडा भएको महानगरपालिका हो, जहाँ ३३ वडा छन्। यहाँ ९८ मतदानस्थलमा २१० मतदान केन्द्र बनाइएको छ।
यसअघि २०७४ सालको निर्वाचनमा १ लाख ६८ हजार ६७ मतदाता थिए।
चितवनको भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन्। २९ वडा भएको भरतपुरमा ६५ मतदानस्थल अन्तर्गत २०२ मतदान केन्द्र तोकिएको छ।
यस्तै, १९ वडा रहेको विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन्। विराटनगरमा २९ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका छन्।
यस्तै, पाँचौं महानगर वीरगन्ज महानगरपालिकामा यस वर्ष १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेका छन्।
३२ वडा रहेको वीरगन्जमा ५५ मतदानस्थल अन्तर्गत १४३ मतदान केन्द्र रहेका छन्।
यस्तै, सबभन्दा कम मतदाता रहेको ललितपुर महानगरमा यो वर्ष १ लाख २२ हजार ८९० मतदाता छन्। यहाँ २९ वडामा ५२ मतदान स्थल र १३७ मतदान केन्द्र छन्।
ललितपुर महानगरपालिकामा यसअघि १ लाख १२ हजार ९२३ मतदाता थिए।