यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन्।
नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो।
रघुगङ्गा–६ की २८ वर्षीया मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन्।
नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए।
‘म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिनँ र? मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्,‘यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौती पनि हो। हामी कति दिन अरूको भोट बैंक बन्ने। नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु।’
गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ।
मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए।
उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनको प्रतिस्पर्धीको रूपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन्।