आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा सत्ता गठबन्धनले २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
सोमबार गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा थुप्रै लोभलाग्दा योजना अघि सारेको छ।
धनगढीमा नेपाली कांग्रेसको तर्फबाट नृपबहादुर वडले नगरप्रमुख र माओवादीका तर्फबाट शान्ती कुमारी अधिकारीले उपप्रमुखका लागि उम्मेदवारी दिएका छन्।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, भौतिक विकास गरेर नागरिकलाई गुणस्तरीय जीवनयापन गर्नयोग्य सहर बनाउनेसम्मका प्रतिवद्धता छन्।
‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने क्रममा सडक किनारमा वृक्षारोपण गरिने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम पाँचदेखि दश वटा बिरूवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाको दुवै किनारमा पैदल मार्ग निर्माण गरिने र उर्मा गाउँलाई आधुनिक ‘नमुना बस्ती’ बनाइने प्रतिबद्धता समेटिएको छ।
यस्तै उपमहानगरका १४, १८ र १९ मा वडामा टाउन प्लानिङ सुरू गरिने, धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा र सहिद गेटमा आकाशे पुल निर्माण गरिने र एउटा वडा एउटा पार्क, एउटा पोखरी र एउटा पुस्तकालय निर्माण गरिने प्रतिबद्धता पत्रमा लेखिएको छ।
उपमहानगरका विभिन्न स्थानबाट बग्ने खोला तथा नदी किनारामा खुला पार्क निर्माण गरी वातावरण मैत्री साइकल ट्रयाक निर्माण गरिने प्रतिवद्धता जनाएका छन्।
यस्तै एक गाउँ बहु उत्पादन नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने, फुलबारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइने, अर्गानिक कृषि खेतीलाई प्रोत्साहन गरी त्यसको बजारीकरणमा सहयोग गरिने प्रतिवद्धता गरेका छन्।
यस्तै विद्यालयमा बालबालिकाको शत प्रतिशत पहुँच पुर्याउन ‘हेप्पी स्कुल’ को अवधारणा अन्तर्गत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादरमा वृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरूको विद्यालय छोडेर शून्यमा झारिने लक्ष्य राखेका छन्।
उपमहानगरलाई बालश्रम मुक्त बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिने र निजी विद्यालयको शुल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने आश्वासन दिएका छन्।
यस्तै, धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने, उर्मा र फूलबारी दुबैलाई पायक पर्ने गरी २५ शैय्याको सुविधासम्पन्न अस्पताल स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
‘घरबाट निस्कने फोहरमैला संकलन गरी त्यसबाट मल तथा उर्जा उत्पादन गरिनेछ’ प्रतिबद्धता पत्रमा उल्लेख छ। ‘धनगढीमा वहुजातीय, बहुसांस्कृतिक संग्रहालय निर्माण गरिनेछ। सबै धर्म सम्प्रदाय र ती सँग सम्बन्धित आस्थाका केन्द्रको विकास तथा प्रवर्द्धन गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ,‘बेहडा बाबा, जाखौरताल, शिवपुरीधाम, नेतुवाताल कनरीपार्कलाई पर्यटनको आकर्षक केन्द्र बनाई पूर्णरुपमा संचालन गरिनेछ।’
‘उपमहानगरपालिकाका भित्री सडकलाई रिङरोड, हुलाकी सडक र सहरी सघन सडक सञ्जालमा जोडिनेछ। धनगढी उपमहानगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गरिनेछ,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडक ट्राफिक संकेत निर्माण तथा सुरक्षाका लागि आवश्यक ठाउँमा सिसी टिभी क्यामेरा जडान र स्मार्टलाइट बत्ती जडान गरिनेछ।’
यस्तै, पाँच वटा ईलेक्ट्रिक बस निजी (पिपीपि) मोडलमा सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ
‘उपमहानगरका वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिनेछ,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘धनगढी उपमहानगरपालिका भित्र उद्योग तथा कलकारखानामा लगानी गर्न लगानीमैत्री नीति निर्माण गरिनेछ। ५० करोड रूपैयाँ भन्दा बढी लगानीका होटेल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिनेछ।’
करका दरलाई न्यून गर्दे दायरा फराकिलो पारिने प्रतिवद्धतापत्रमा भनिएको छ। ‘उपमहानगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधि र त्यसको बजेट तथा कार्यान्वयन गर्ने विस्तृत योजना पालिकाको डिजिटल बोर्डमार्फत सार्वजनिक गरिनेछ।’
धनगढी उपमहानगर भित्र निःशुल्क शववाहनसहित मलामी वाहन सञ्चालन गरिने, धनगढी उपमहानगर पालिकाको घुईयाघाटलाई नमूना राना गाउँ बनाइने, ज्येष्ठ नागरिकको स्वास्थ्योपचार तथा निर्वाहका लागि सरकाले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका छन्। यस्तै जेष्ठ नागरिकका लागि प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र (अध्ययन, लाईबेरी मनोरञ्जन, विश्राम) बनाइने प्रतिवद्धता पत्रमा उल्लेख छ।