नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले अवसरवादीहरूको जमात भएको आरोप लगाएका छन्।
मोरङको रंगेलीमा सोमबार भएको चुनावी सभामा बोलेका निधिले अवसरवादीहरूको जमातलाई यसपालिको चुनावबाट जनताले साइजमा ल्याउने बताए।
‘एमालेजस्तो अवसरवादी दललाई भोट दिएर पछि पछुताउनुपर्ला,’ उनले भने, ‘दुई तिहाइको सरकार चलाउन सकेन। एक पाइलट जहाज छाडेर निस्केपछि कांग्रेसको काँधमा सरकार चलाउने जिम्मेवारी आएको छ।’
एमालेले जनमतको कदर गर्न नसक्ने र जनभावनामा विश्वास नगर्ने उनको दाबी थियो।
सरकार चलाएको तीन वर्षमा एमालेले अदालत, संसद, सरकार, संवैधानिक आयोग र लोकतान्त्रिक संस्थाहरुलाई क्षतबिक्षत पारेको निधिले आरोप लगाएका छन्।