नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न स्थापितलाई भनेको छ।
स्थापितको अभिव्यक्ति सार्वजनिक भएपछि सत्यतथ्यबारे २४ घन्टाभित्र जवाफ दिन पत्र काटिएको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
मेयर उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।
त्यही कार्यक्रममा उनले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, 'के आधारमा प्रश्न गर्नुभयो यी बहिनीले? म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ?’
त्यस्तै एमाले उमेदवार स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएकाले सत्य तथ्यबारे आयोगलाई २४ घन्टा भित्र जानकारी गराउन भनिएको आयोगले बताएको छ।