जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार उठेका मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसेका छन्।
नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठेका थिए।
निर्वाचन आयोगले आफूलाई प्रदान गरेको चुनाव चिन्ह नमूना मतपत्रमा र वेबसाइटमा नराखिएको भन्दै उनले विरोध गरेका छन्।
‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उनले भने, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’
नमूना मतपत्रमा चिन्ह नराखेको भन्दै धर्नामा बस्न बाध्य भएको उनले बताए।
‘यो गल्ती सच्याउँछौं भनिरहनुभएको छ। तर अहिलेसम्म राखेको छैन,’ उनले भने, ‘कति समय लाग्छ पनि भनेको छैन। केन्द्रको हातमा छ भनेका छन्। केन्द्रले के गर्न खोजेको हो? चुनाव प्रचार गर्नुछ, हाम्रो २४ घण्टा खेर गएको छ।’
निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुन: मतपत्र छपाइ गर्ने तयारी गरेको छ। आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको छ।