निर्वाचन आयोगले चुनावका बेला सामाजिक सञ्जाल नियमन गर्न फेसबुक, ट्विटर, टिकटकलगायत कम्पनीका कार्यालयलाई पत्राचार गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल नियमनलाई प्रभावकारी बनाउन कार्यालयसँग सम्पर्क स्थापना गर्ने बताए।
उनका अनुसार फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि कम्पनीका कार्यालयहरूलाई सम्पर्कको प्रयास गर्न लागेको हो।
भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङटन डिसी र चीनको बेइजिङस्थित ती कम्पनीका कार्यालयमा अनुरोध गर्ने र उक्त मुलुकस्थित नेपाली दूतावासहरूले आवश्यक सम्पर्क र सहकार्य स्थापना गर्न आयोगले परराष्ट्र मन्त्रालयलमार्फत् निर्देशन दिएको हो।
‘निर्वाचन आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेश गरिएका प्रावधानहरूको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावास मार्फत् जानकारी गराइएको छ,’ प्रवक्ता शर्माले भने।
त्यस्तै मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचार प्रसार रोक्न इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस सेवा प्रदायक र केबल टेलिभिजन नेटवर्कलाई निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्रधिकरणलाई पत्राचार गरिएको आयोगले जनाएको छ।