गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ।
यहाँ कांग्रेसले मेयरमा जसपालाई सघाउने सहमति भएको छ भने उपमेयर कांग्रेसले लिएको छ। जसपाबाट मेयरमा प्रेम गुरूङ उम्मेदवार छन् भने कांग्रेसबाट उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेदवारी दिएकी छन्।
गोरखामा पाँचदलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएअनुसार यहाँ आ-आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता भएको थियो।
कांग्रेसबाट पहिलेका मेयर दिपकबाबु कँडेलले उम्मेदवारी दर्ता गरेका थिए। केन्द्रको निर्देशनअनुसार कांग्रेस उम्मेदवार कँडेल मेयर उम्मेदवारीबाट आज पछि हटेका छन्।
पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटारमा चुनावी तालमेल गर्न भट्टराईले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए।
गत शुक्रबार नै सभापति देउवाले पत्र पठाएर मेयर उम्मेदवारबाट कँडेलको नाम हटाउन भनेका थिए। तर त्यसदिन ५ बजेपछि मात्रै पत्र निर्वाचन अधिकृत कार्यालय पुगेको थियो।
कँडेलले आफू उम्मेदवार हट्ने भए आमरण अनसन बस्ने चेतावनी दिइरहेका थिए। तर आज उनले वक्तव्य जारी गर्दै पार्टीले गरेको निर्णय आफूले स्वीकार गरेको उल्लेख गरेका छन्।
०७४ को स्थानीय चुनावबाट कँडेल मेयर भएका थिए। पालुङटारमा वैशाख ३० मा कांग्रेस-जसपा गठबन्धन र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नेकपा एमालेका उम्मेदवारबीच त्रि-पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
यस्तो छ वक्तव्य: