नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
आइतबार १३३ औं मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन्।
प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरे। कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए ।
नेता पुनले आयोगलाई निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले निर्वाचन आयोग रेफ्रीको भूमिकामा बस्नुपर्ने पनि बताए ।
‘हामी विभिन्न संवैधानिक निकायहरू, व्यक्तिहरु, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्न पनि हामीले अपिल गर्न चाहान्छौं। निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सिमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन’, उनले भने, ‘निर्वाचन आयोग आज रेफ्रिको भूमिकामा छ रेफ्रि आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो र गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ? म आयोगलाई अनुरोध गर्न चाहान्छु, आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले, मतदाताले देख्नेगरी रेफ्रिको भूमिकामा बसिदिनुस्।’
उनले रेफ्रि जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुने भन्दै लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ । त्यति नै लोकतन्त्र सुदृढ हुने बताए।
‘हिजो उहाँले भन्नुभयो असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ। निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलिहरु प्रति हाम्रो आपत्ति छ’ उनले भने।