ललितपुर महानगरपालिका-१० का नरसिंह व्यञ्जनकार ११ औं पटक वडाध्यक्ष बन्न यसपालि आफ्नै भतिजासँग चुनाव लड्ने भएका छन्।
आधा शताब्दिदेखि निर्विरोध र निर्वाचित भएर नेतृत्व लिँदै आइरहेका व्यञ्जनकारनले यो पटक आफ्नै भतिजा रविन व्यञ्जकारसँग प्रतिस्पर्धा गर्ने भएका हुन्। रविन नरसिंहका कान्छो भाइका छोरा हुन्। उनलाई नेपाली कांग्रेसले टिकट दिएको हो। उनी फुटबल खेलाडी हुन्।
केही समयअघि नेपाली कांग्रेसका जिल्ला सभापतिसँग कुरा गर्दा रविनलाई उठाउने कुरा नभएको नरसिंहले बताए।
‘मैले केही वर्षअघि युवालाई अगाडि ल्याऔं भनेको थिएँ। तर केही तयारी भएको थिएन’, नरसिंहले भने, ‘आफ्नै भतिजालाई टिकट दिने भएको रहेछ, पछि थाहा पाएँ।’
उनले एकदिन रविन घरमा आशिर्वाद दिनुस् भनेर आएको बताए। तर चुनावबारे रविनले केही पनि कुरा नगरेको बताए।
‘एकदिन घरमा आशिष दिनुस् भनेर आएको थियो’, उनले भने, ‘सोचेको कुरा पुगोस् भने।’
उनले आशिर्वाद दिएता पनि रविनले के कामको लागि आशिष मागेको नभनेको बताए। उनले पनि आशिष लिन आएका कारण आशिष मात्र दिएको बताए।
उनले आफू र भतिज प्रतिस्पर्धा गर्नुपर्ने कारण ओमकार श्रेष्ठ भएको आरोप लगाए।
‘आ-आफ्नालाई नै भिडाउने रणनीति ओमकारको हो’, उनले भने ‘ऊ भएसम्म नेपाली कांगेस उभो लाग्न सक्दैन। किनकी उसले कांगेसलाई हराउने काम गरिरहेको छ। किनकी मैले नै जित्छु।’
अब बाँकी चुनावको दिन जनताको भोटले जित निर्धारण गर्ने बताउँछन्। आफ्नै भतिजासँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा पनि आफ्नै जित हुनेमा निर्धक्क छन्।
‘जनताले उठ्नु भनेर चुनावमा लड्ने योजना बनाएको हो,’ उनले भने, ‘अब बाँकी चुनावको नतिजाले नै देखाउने छ।’
व्यञ्जनकारले यसपालि आयोगबाट चुनावका लागि पुतली चिन्ह्र पाएका छन्।
गत आइतबार उनले ११ औं पटकको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
व्यञ्जनकारले ललितपुर महानगरपालिका-१० का आधा शताब्दिदेखि नेतृत्व लिदै आइरहेका छन्।
व्यञ्जनकारले २०२९ सालमा पहिलो पटक अध्यक्षमा जितेका थिए। उनले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेदवार बनेर जितेका छन्।
१९९७ साल मंसिर १२ गते कुपन्डोलमा जन्मिएका नरसिंहले झन्डै आधा शताब्दी वडाध्यक्ष भएर बिताइसके।
यो पनिः फेरि चुनाव लड्ने तयारीमा आधा शताब्दीदेखिका वडाध्यक्ष