नेपाली कांग्रेसबाट गोरखाको पालुङटार नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका दिपकबाबु कँडेलले आफूले उम्मेदवारी नछोड्ने बताएका छन्।
गोरखामा सत्तागठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिअनुसार ११ वटै पालिकामा दलहरूले आ-आफ्नो तवरबाट उम्मेदवारी दिएका थिए।
तर जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटारको मेयर जसपाले पाउनुपर्ने माग गठबन्धन बैठकमा गर्दै आएका छन्।
गत शुक्रबार बिहान बालुवाटारमा सत्तागठबन्धन बैठकमा पनि भट्टराईले पालुङटार छाड्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।
सोही दिन अपरान्ह सभापति देउवाले कँडेलको उम्मेदवारी खोसेको पत्र सिधै निर्वाचन अधिकृत कार्यालयमा पठाए पनि ५ बजेभन्दा ढिला पत्र आएको भन्दै उनको उम्मेदवारी कायमै छ।
तर आज सत्तागठबन्धन बैठकले उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि सहमति गरेर जान र निर्णय नमाने कारबाही गर्ने चेतावनी दिएको छ।
यसबीच पालुङटारमा कांग्रेसबाट मेयर उम्मेदवार कँडेलले जसपाका अध्यक्ष बाबुराम भट्टराईका अडानका कारण नै पार्टीले पालुङटारको मेयर छाड्न नसक्ने बताएका छन्।
पालुङटारमा मेयरमा उम्मेदवारी कायमै राखेर जसपाले उपमेयरबाट भने शुक्रबार आफ्ना उम्मेदवारलाई पछि हटाएको थियो।
‘म व्यक्तिगत रूपमा चुनाव छाड्नेवाला छैन,’ कँडेलले भने, ‘म चुनाव लडेँ, लडेँ। कुनै पनि हालतमा छोड्दिनँ। शेरबहादुरजीले निकाल्नुभयो भने अर्कै कुरा। हामीले बाबुराम भट्टराईसँग सम्झौता गर्नुपर्ने कुनै कारण छैन।’
बाबुरामसँग गोरखा कांग्रेस लत्रिन नहुने उनले बताएका छन्। ०७४ सालमा कँडेल कांग्रेसबाट मेयर जितेका थिए। यहाँ भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति तेस्रो भएको थियो।
कँडेलले आफ्नो मेयर उम्मेदवारी खोसेमा पालुङटारमा आमरण अनसन बस्ने बताएका छन्।
‘अहिले हामीले अरूलाई छाड्ने हो भने कुनै ठाउँमा पालुङटारमा कांग्रेसले चुनाव जित्दैन,’ आज आयोजित भेलामा उनले भने, ‘हामी पहिलो शक्ति हो। जसपा तेस्रो हो। मलाई वक्तव्य निकाल्न दबाब दिइरहेका छन्। मैले वक्तव्य निकाल्नुपर्छ भने- पालुङटारमा चुनावसम्म आमरण अनसन बस्छु।’