झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएकी छन्।
उनीहरू दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए।
यस्तै तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भइन्।
उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए।
उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन्। एकल उम्मेदवारी परे पनि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए।