बनेपा नगरप्रमुख लक्ष्मी नरसिं बादेले दिए राजीनामा घोषणा गरेका छन्।
स्थानीय तहको निर्वाचनको टिकट वितरणमा असन्तुष्ट रहेका उनले शनिबार पत्रकार सम्मेलन गरी राजीनामा दिने घोषणा गरेका हुन्।
उनले पार्टीको साधारण सदस्यता समेत त्याग गरेका छन्। उनले तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताए।
एमाले काभ्रेका इञ्चार्ज समेत रहेका पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले आफूसँग सल्लाह समेत नगरी अन्तिम समयमा धोका दिएको बादेले बताए।
नगर प्रमुखका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो। एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ।
टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बादेले बताए।
पूर्व एसएसपी समेत रहेका बादे राप्रपाबाट एमाले प्रवेश गरेका थिए। एमाले बनेपा नगर कमिटीका पूर्व अध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख निर्वाचित भएका थिए।