पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरका स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह रोज्न लगाए।
महानगरको मेयरमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले लौरो चिन्ह रोजे।
पहिलो नम्बरमा उम्मेदवारी दिएका पौडेलले पहिला चुनाव चिन्ह रोज्न पाउँथे। लौरो चिन्ह रोजेपछि उनले देशभरका अन्य उम्मेदवारलाई पनि सोही चिन्ह रोज्न म्यासेज गरे। शनिबार बिहान लौरो चिन्ह लिएर उनले मतदातासमक्ष मत मागिसकेका थिए।
मेयर उम्मेदवार पौडेलले जब लौरोमा मत माग्न थाले। दिउँसो नै उनलाई लौरो चुनाव चिन्ह दिन नसकिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीले फोनमार्फत् जानकारी गराए।
मेयर उम्मेदवार पौडेलले आफुसँग ठुला भनिएका राजनीतिक दल डराएर चुनाव चिन्ह परिवर्तन गराउने षड्यन्त्र गरेको प्रतिक्रिया दिए।
‘ठूला दलहरूको प्रभाव र दबाबमा मैले पाइसकेको चुनाव चिन्ह खोसिएको छ,’ उनले भने, ‘निर्वाचन कानुन अनुसार मैले चुनाव चिन्ह रोज्न पाउने हक उल्लङ्घन भयो।’
काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले पनि चुनाव चिन्ह लौरो पाएका छन्। पोखरामा पनि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह लौरो राख्दा ठूला दलले हार्ने देखेर खोसिएको पौडेलको दाबी छ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने निर्वाचन आयोगले दिएको निर्देशन अनुसार पौडेललाई लौरो चुनाव चिन्ह दिन नसकेको जानकारी गराएको जनाएको छ।
कार्यालयका अधिकृत निलप्रसाद पनेरूले स्वतन्त्र उम्मेदवारलाई मतपत्रको क्रमसंख्या अनुसार ७ वटा चुनाव चिन्ह मात्र रोज्न आयोगले निर्देशन दिएको बताए।
‘निर्वाचन आयोगले कास्कीको हकमा स्वतन्त्र उम्मेदवारलाई सातवटा निर्वाचन चिन्ह मात्र रोज्न दिने भनेर निर्देशन आयो,’ पनेरूले भने, ‘हामीलाई निर्देशन ढिलो आएकाले उहाँलाई लौरो चिन्ह दिन सकेनौं।’
मतपत्रमा लौरो चिन्ह सात नम्बर भन्दा पछाडी रहेको पनेरूले बताए।
यस विषयमा उम्मेदवार पौडेलसँग छलफल गरेर चुनाव चिन्ह टुङ्गो लगाउने पनेरूले बताए।