मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले 'लालटिन' चुनाव चिन्ह पाएका छन्।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले चुनाव चिन्ह लिएका हुन्।
स्वतन्त्र पदबाट उनीहरू दुबैले 'लालटिन' चुनाव चिन्ह पाएको विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।
जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले 'घण्टाघर' चिन्ह पाएका छन्।
उपमेयरमा उठेका बसुन्धरा देवी झाले जेब्रा र गंगादेवी सुवेदीले 'चापाकल' चिन्ह पाएको मुख्य निर्वाचन अधिकृत लम्सालले बताए।
‘अहिलेसम्म मेयरमा स्वतन्त्रबाट दुई जनाले लिनुभएको छ। उपमेयरमा तीन जनाले पाएका छन्,’ उनले भने।
विराटनगरमा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसले नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादव उठेका छन्। यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।
नेकपा एमालेले सागर थापालाई प्रमुखमा उठाएको छ।