नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
पार्टीको वीरेन्द्रनगर नगर कमिटीमार्फत् जनप्रतिनिधिहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा पूर्वाधार, स्वास्थ्य, रोजगारी, सामाजिक सेवालगायतका क्षत्रेमा विभिन्न प्रतिबद्धता गरिएको छ।
पूर्वाधारका क्षेत्रमा भेरीको पानी लिफ्टिङ गरी अबको तीन वर्षभित्र वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने, वीरेन्द्रनगरको सुब्बाकुनादेखि फलाँटेसम्म सहायक राजमार्ग निर्माण गर्ने, वीरेन्द्रनगर उपत्यकाबाट पानी निकास हुने निकास खोलामा भइरहेको संरचनाका कामलाई निरन्तरता दिने, खोर्केखोला, इत्राम खोला र नेवारे खोलामा करिडोर निर्माण तथा वीरेन्द्रनगर नगरक्षेत्र भित्रका झुप्रा खोलालगायत सबै खोलाको संरक्षणको नीति लिइने घोषणापत्रमा प्रतिबद्धता पत्रमा उल्लेख छ।
वीरेन्द्रनगरमा वैकल्पिक बसपार्कक निर्माण गर्ने, नगर क्षेत्रभित्रका सडकहरू तथा प्रत्येक घरधुरीको नम्बरिङ गरी मेट्रिक ठेगाना प्रणाली लागू गर्ने, वीरेन्द्रनगरको गुरूयोजनअनुसार नक्सांकन गरिएका सडकहरूको लगतकट्टा गर्न सहरी नापीलाई निरन्तरता दिने, नगरभित्र निर्माण हुने निजी तथा सार्वजनिक भवनहरूको भूकम्प प्रतिरोधी बनाउन प्रभावकारी भूमिका खेल्ने,
फोहर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माणलाई तीव्रता दिने प्रतिबद्धता गरिएको छ।
वीरेन्द्रनगर उपत्यका लगायत बाहिरका वडा नम्बर १२, १३, १४, १५ र १६ मा खानेपानी सम्भाव्यता अध्ययन गरी सहज व्यवस्थापन गर्ने, पूर्वाधार विकासमा नीजि क्षेत्रको सहकार्यलाई अघि बढाउने, नगर क्षेत्रको समृद्ध विकासका लागि सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट विकासका कार्यहरू संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइने प्रतिबद्धता पनि गरिएको छ।
वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारका योजना निर्माण गर्ने, नगर क्षेत्रभित्रको सन्तुलित विकास गर्नका लागि आधुनिक सुविधा सम्पन्न अन्डरग्राउण्ड पार्किङ सहितका सपिङ्ग कम्प्लेक्स बनाउने प्रतिबद्धता पनि पूर्वाधार क्षेत्रमा गरिएको छ।
यस्तै स्वास्थ्यतर्फ नगरभित्र रहेका सबै वडा स्वास्थ्यचौकीको स्तरवृद्धि र आवश्यक सबै औषधिको व्यवस्थापन तथा जनशक्तिसहित स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने, कटुकुवामा रहेको नगर अस्पताललाई महिला बालबालिका विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने, स्वास्थ्य स्वयमसेवीकाको कामको मूल्याङ्कन गर्दै मासिक सेवा सुविधाको नीति बनाइने, सुरक्षित बर्थिङ सेन्टर र खोप केन्द्रको निर्माण एवं विस्तारमा जोड दिने, योग, प्रणायाम, आयुर्वेद, आहार, विहार र विचारमा जोड दिँदै प्रत्येक टोलमा आभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
गर्भवती महिलालाई भिडिओ एक्सरे, एम्बुलेन्स सेवा नि:शुल्क गर्ने, सबै महिलाका लागि नि:शुल्क सेनिटरी प्याड कार्यक्रमलाई निरन्तरमा दिने, नगरभित्रका स्वास्थ्य संस्थाहरूलाई अपाङ्गतामैत्री, जेष्ठ नागरिकमैत्री र बालमैत्री बनाउने, बालमृत्युदर तथा मातृमृत्युदर घटाउनका लागि सुरक्षित बाल स्वास्थ्य पोषण, परिवार नियोजन, आमा सुरक्षा तथा संक्रामक रोगसम्बन्धी विभिन्न कार्यक्रमलाई प्रभावकारी रुपले संचालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।
यस्तै, नगरका दुर्गम ठाउँहरुका गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि घुम्ती टोलीको व्यवस्थापन गर्ने, मनोरोग तथा दुर्व्यसनमा फसेका नागरिकलाई ध्यान योग, परापर्शकेन्द्र निर्माण गरी सेवा प्रारम्भ गर्ने प्रतिवद्धता पनि स्वास्थ्य क्षेत्रमा गरिएको छ।
यस्तै, सामाजिक क्षेत्रमा साइबर अपराधका घटनाको न्यूनीकरणका लागि कानुन निर्माण गर्ने, ‘एक घर, एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र संमृद्धिको मूलआधार’ भन्ने नारासहित सुरू भएको महिला स्वरोजगार कार्यक्रमलाई निरनतरता दिने, हिंसा प्रभावित महिला तथा बालबालिकाको पुनःस्थापनाका निम्ति सेफहाउस सञ्चालनमा ल्याउने, प्रत्येक वडामा जेष्ठ नागरिक परिचयपत्र वितरण गर्ने, बालविवाह र बालश्रममुक्त नगर घोषणाका लागि विभिन्न अभियान सञ्चालन गर्ने, जोखिममा परेका बालबालिकाको उद्धार तथा पुनर्स्थापना गर्ने लगायतका प्रतिबद्धता गरिएको छ।
वातावरण तथा विपदमा विस्थापनतर्फ नगरपालिका क्षेत्रभित्रको अव्यवस्थित ढल तथा नालालाई वातावरण अनुकूलित, वैज्ञानिक तथा आयमूलक बनाउनका लागि प्रभावकारी कार्यान्वयन गर्ने, प्लास्टिक न्यूनीकरण र फोहोर संकलन अभियान सञ्चालन गर्ने, नगरपालिकामा प्रमुख समस्याको रूपमा रहेको छाडा पशु चौपाया व्यवस्थापनका लागि गौशालाको व्यवस्थापन गर्ने, पशुअस्पताल स्थापना गरी सेवा सुचारु गर्ने, नगरपालिका भित्र रहेका सामूदायिक कुकुरहरूलाई उचित रूपले व्यवस्थापन गर्नेलगायतका प्रतिबद्धता गरिएको छ।
कृषि उत्पादन र रोजगारी सिर्जनाको क्षेत्रमा कृषिमा व्यावसायिकीकरण, यान्त्रीकरण तथा आधुनिकीकरणका साथै कृषि उद्योगको स्थापना गरी रोजगारी दिलाउने, अर्गानिक फलफूल, अन्न र तरकारी उत्पादन गर्न अनुदान व्यवस्था गर्ने, विदेशी उत्पादनलाई निरूत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता गरिएको छ।
एकद्वार सूचना प्रणाली स्थापित गर्दै अद्यावधिक सूचना बैंक स्थापना गर्ने, नगरपालिकाको आफ्नै आधुनिक तथा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरी सबै सेवालाई एकीकृत रूपमा सञ्चालन गर्ने, प्रत्येक वडा कार्यालयबाट दिइने सेवा प्रवाहलाई चुस्त, दुरूस्त र छिटोछरितो गराउने, सबै वडा कार्यालय तथा शाखाबाट सम्पादन हुने कामहरूलाई विद्युतीय सुशासन अवधारणाअनुसार अगाडि बढाउने प्रतिबद्धता पनि गरिएको छ।
प्रदेशकै गौरवको रूपमा रहेका काँक्रेबिहार संरक्षण क्षेत्रलाई संवर्द्धन गर्दै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्ने, निर्माणाधीन काँक्रेबिहारको पूर्वाधार कार्य सम्पन्न गर्ने, देउतीबज्यै, बुलबुले, घण्टाघर, खोरिया, सहिदपार्क, पाताल दरबार, अँधेरी गुफा, गढी, सिद्धपाइला, बाँझदया लगायतका क्षेत्रलाई धार्मिक, वातावरणमैत्री तथा खुला पार्कको रूपमा विकास गर्ने प्रतिबद्धता पनि गरिएको छ।
नगरपालिकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण कार्य तीव्र रूपमा अघि बढाउने, नगरपालिकाले संकलन गरेका जग्गाको लागतहरूको व्यवस्थित दस्ताबेजीकरण गर्दै तत्काल पुर्जा वितरण प्रक्रिया थाल्ने, नगरभित्रका सार्वजनिक जग्गाहरूको संरक्षण गर्ने, भू–उपयोग नीतिलाई व्यवस्थित र वर्गीकरण गरी नगरपालिकाले स्वीकृत गरेको मापदण्डका आधारमा प्रभावकारी नीति ल्याउने प्रतिबद्धता पनि एमालेको घोषणापत्रमा गरिएको छ।
यसैगरी नगर क्षेत्रका औपचारिक र अनौपचारिक श्रमिकहरूको अनिवार्य सूचीकरण गर्ने, स्वरोजगार व्यापारी श्रमिकहरूलाई उचित बजार व्यवस्थापन गरी सामाजिक सुरक्षामा समावेश गराउने, नगरपालिका कार्यालयमा श्रमिक हेल्प डेस्क स्थापना गरी श्रमिकहरूका गुनासो सुनुवाइ गर्ने प्रतिबद्धता गरिएको छ।
प्रचलित सहकारी ऐन नियमावलीलाई सहकारी अभियानको सुझाव लिई समय सापेक्ष बनाई लागू गर्ने, संस्थाको दर्ता, सञ्चालन, नियमन र अनुगमनलाई व्यवस्थीत गर्न आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरू तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि गरिएको छ।