नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि कांग्रेस महामन्त्री शर्माका सात प्रस्ताव अघि सारेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल सांस्कृतिक संघले 'निर्वाचन प्रतिस्पर्धामा कस्तो संस्कृति?' विषयमा आयोजित विचार गोष्ठीमा उनले सात प्रस्ताव अघि सारेका हुन्।
यस्ता उनका प्रस्ताव:
१) प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाऔं l
२) हरेकले दलले विगतमा जे-जस्ता गल्ती/कमजोरी जे गरेका छौं जनतासमक्ष आत्मालोचना गरौंl नदोहोर्याउने संकल्प र प्रतिबद्धता गरौंl
३) स्वस्थ र तथ्यपूर्ण आलोचना गरौं, आपसलाई गाली नगरौंl प्रतिस्पर्धी उम्मेदवारलाई दुश्मन नठानौं, मित्रवत व्यवहार गरौं अनि निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गरौंl
४) जनतालाई धेरै सपना नदेखाऔंl धेरै सपना देखाउने, पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गरौंl यो पाँच वर्षमा गर्न जरूरी काम र गर्न सक्ने काम सोचौं, बोलौं, गरौंl
५) आचारसंहिता (संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सीमाभित्र) पालना आफू गरौं, अरूलाई पालना गर्न प्रेरित गरौंl
६) अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढंगले खर्च गरौंl `पैसा नहुनेले चुनाव लड्न नसक्ने´ बन्दै गएको छवि र स्थिति अन्त्य गर्न गम्भीर बनौंl उम्मेदवारको आर्थिक र पारिवारिक जीवनको पारदर्शिता खोजौं, राखौंl
७) मतगणनामा जिम्मेवार बनौं, मत परिणामलाई हार्दिक ढंगले स्वीकार गरौंl स्वस्थ संस्कृतिको जगमा आजको लोकतान्त्रिक व्यवस्थाप्रति जनताको विश्वास अझ बलियो बनाउनतर्फ लागौंl