नेपाली कांग्रेस चितवनले वडा अध्यक्षको टिकट वितरणमा आर्थिक चलखेल भएको विषयमा छानबिन गर्न समिति बनाएको छ।
गत मंगलबार पार्टी कार्यालयमा भेला गरी कांग्रेसका कार्यकर्ताहरूले पार्टीको क्षेत्रीय समितिका पदाधिकारीले उम्मेदवार बन्न लाखौं रुपैयाँ मागेको आरोप लगाएका थिए।
उम्मेदवारमा दाबी गर्दा क्षेत्र नम्बर २ का पदाधिकारीले ५ लाखदेखि २५ लाख रुपैयाँसम्म मागेको दाबी उनीहरूले गरेका थिए।
विभिन्न वडाका सभापतिसमेत उपस्थित भेलाका सहभागीले क्षेत्रीय समितिले पार्टीको विधानविपरीत उम्मेदवार तोकेको दाबी गर्दै त्यस्ता उम्मेदवारलाई सहयोग गर्न नसकिने बताएका थिए।
भोलिपल्ट बुधबार क्षेत्रीय समितिले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेको थियो।
क्षेत्रीय सभापति भरतप्रसाद लामिछाने, सचिव निर्मलकुमार राना, प्रवक्ता तिलक भुषाल लगायतले पत्रकार सम्मेलन गरेर क्षेत्रीय समितिका पदाधिकारीमाथि लगाइएको आरोपको खण्डन गरेका थिए।
वडाध्यक्षको विषयमा पार्टीका जिम्मेवार नेताहरूबीच नै आरोपप्रत्यारोप चल्न थालेपछि जिल्ला समितिको बैठकले निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
समितिमा जिल्ला सचिव सूर्य अर्याल र जिल्ला सदस्य ज्ञानेन्द्र गिरी सदस्य छन्। समितिले टिकट वितरणको विषयमा सक्दो छिटो छानबिन गर्ने जनाएको छ।