सत्तारूढ पाँच दलीय गठबन्धनले पोखरा महानगरस्तरीय घोषणा पत्र सार्वजनिक गर्न हलभित्र कार्यक्रम सुरू गर्ने तयारी गर्दै थिए। नेपाली कांग्रेसका केही कार्यकर्ताले कार्यक्रम गर्न नदिने भन्दै भित्रै विरोध गरे।
त्यतिबेला गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यदेखि कांग्रेस नेता यज्ञबहादुर थापाले उक्त दृश्य देखिरहेका थिए। अवरोध गर्न खोजेका कार्यकर्ता बाहिरिएपछि मात्र निर्धारित समयभन्दा निकै ढिलो घोषणापत्र सार्वजनिक समारोह सुरू भयो।
पार्टी प्यालेसको गेट थुनेर कार्यक्रम सुरू गर्न लाग्दा कांग्रेस कार्यकर्ताले नाराबाजी गर्न थाले। उनीहरूले ‘कांग्रेस बेच्न पाइँदैन, गठबन्धन चाहिँदैन’ लगायतका नारा लगाएका थिए। कांग्रेस नेता एवं गण्डकीका कानुनमन्त्री विन्दुकुमार थापालाई गेटमै छेकेर नाराबाजी गरिरहे।
पोखरा महानगरमा रहेका ३३ वटै वडामा कांग्रेस र माओवादीले उम्मेदवारी दिएको छ। गठबन्धनमा भाग मिलाउन कांग्रेसले वडा अध्यक्ष छाड्नुपर्ने देखिएकाले विरोधमा नाराबाजी गरेको एक कांग्रेस कार्यकर्ताले बताए।
‘वडामा माओवादीको बिउ पनि छैन, गठबन्धन गरेर वडा अध्यक्ष दिन सकिँदैन,’ ती कार्यकर्ताले भने, ‘माथिबाट गठबन्धन लादेर हाम्रो उम्मेदवारी फिर्ता गराउने षड्यन्त्र भइराखेको छ।’
कांग्रेस कार्यकर्ताले नाराबाजी थाल्नुअघि माओवादीले पनि विज्ञप्ति निकालेर ३३ वटै वडा अध्यक्षका उम्मेदवारलाई चुनाव प्रचारमा खटिन निर्देशन दिएका थिए।
माओवादी पोखराका अध्यक्ष हरिनारायण गिरीले विज्ञप्ति निकालेर वडामा तालमेल हुन नसकेको भन्दै आफ्नै पार्टी उम्मेदवारलाई मत माग्न र चुनाव प्रचारमा खटिन भनेका थिए।
विज्ञप्ति निकालेका उनै गिरी गठबन्धनको महानगरस्तरीय घोषणा पत्र सार्वजनिक समारोहका कार्यक्रम सञ्चालक थिए। तर उनले यसबारे केही बोलेनन्।
कांग्रेस कास्कीका सचिव भानु ढकालले पार्टीको वडा इकाइमै गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार रहेको बताए।
‘हामीले माथिबाट लाद्छौं भनेर साथीहरूले विरोध गर्नुभएको होला,’ उनले भने, ‘गठबन्धन गर्ने कि नगर्ने वडाकै साथीहरूले निर्णय गर्नुपर्छ।’
गठबन्धन दलहरूका वडास्तरीय समितिले छलफल गरेर केही वडाहरूको गठबन्धन टुंग्याएको ढकालले जानकारी दिए।
घोषणा पत्र सार्वजनिक समारोहमा बोल्दै पोखराका मेयर उम्मेदवार आचार्यले सुरूमै कांग्रेस कार्यकर्ताको ध्यान तान्न खोजे। जय नेपालको न्यानो अभिभादन भनेर सम्बोधन सुरू गरेका उनले गठबन्धनमा धेरै कुरा मिलिसकेको र बाँकी समस्याको पनि समाधान हुने बताए।
उपमेयर उम्मेदवार कांग्रेस गण्डकीका सहमहामन्त्री कोपिला रानाभाटले अब गठबन्धन टुट्न नसक्ने बताए।
‘गठबन्धन आजको आवश्यकता हो, समयको माग हो,’ रानाभाटले भनिन्, ‘कसैले रोकेर अब गठबन्धन रोकिँदैन।’