जनकपुरधाम उपमहानगरको मेयरमा उम्मेदवारी दिएका निर्माण व्यवसायी बलराम महतोविरूद्ध उजुरी परेको छ।
रमण कन्स्ट्रक्सनका सञ्चालक रहेका उनीविरूद्ध २० करोड ८७ लाख राजश्व छलेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उजुरी परेको हो।
जनकपुरधामका मुख्य निर्वाचन अधिकृत जनकपुरधाम मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल उनीविरूद्ध परेको उजुरीबारे छलफल भइरहेको बताए।
‘अहिले छलफल भइरहेको छ। साँझसम्म निर्णय गर्छौं,’ उनले भने।
महतोले नेपाली कांग्रेस र माओवादी केन्द्रमा टिकटका लागि प्रयास गरेका थिए। तर कुनै प्रमुख दलबाट टिकट नपाएपछि उनले झन्डै एक महिनाअघि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावको तयारी थालेका थिए।
महतोमाथि राजश्व अनुसन्धान विभागले झूटा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ।
एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
धनुषा, रघुनाथपुर ४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।
रमण कन्स्ट्रक्सनका मुख्य सञ्चालक महतो, उनका छोरा पवन र रमण हुन्। तर मेयरमा उम्मेदवारी घोषणा गरेपछि उनले निर्माण कम्पनी छोराको नाममा हस्तान्तरण गरिसकेको बताएका थिए।
उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजक लिएर राजश्व चुहावट गरेको कसुर स्थापित भएपछि अदालतमा मुद्दा दायर गरेको थियो।
यो कम्पनीले मूल्य अभिवृद्धि कर ७ करोड ५४ लाख ७०९, आयकर १२ करोड ११ लाख ३६ हजार ९९८ र लाभांश कर १ करोड ७५ लाख ७२ हजार ९२१ रुपैयाँ चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको थियो।
महतोमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान थालेको थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानबाट भने आफूले सफाइ पाएको महतोले बताउँदै आएका छन्।