नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारको मुख नहेरी रूख चिह्नमा मतदान गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले जो–जो व्यक्ति भएको भए पनि रूख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिरहेको पनि बताए ।
'कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँ पनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु देशभरीका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रूख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु,’ उनले भने ।