जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनविरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नगर सभापति मनोज साहलाई फकाउने कांग्रेस नेताहरूको प्रयास असफल भएको छ।
उम्मेदवारी फिर्ता लिनपूर्व उपसभापति विमलेन्द्र निधि, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव लगायतका नेताहरूले साहलाई उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनी अघि बढ्ने निर्णय लिएका हुन्।
जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि साह आक्रोशित हुँदै कांग्रेस परित्याग गरी बागी उम्मेदवारी दिएका छन्।
उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो कांग्रेस नेता विमलेन्द्र निधिले भौतिक पूर्वाधार विकासमन्त्री यादवको निवासमा झण्डै एक घण्टा फकाउने प्रयास गरेका थिए। तर आफू अघि बढिसकेकाले कुनै हालतमा उम्मेदवारी फिर्ता लिन नसक्ने साहले जवाफ फर्काएको एक नेताले बताए।
‘पार्टीबाट विद्रोह गरेर जानु ठिक होइन, भोलिका दिनमा पनि तपाईंलाई राजनीति गर्नुछ। हामी अलग नहोऔं, अझै पनि समय छ पार्टीले तपाईंको योगदानको कदर गर्ने नै छ। उम्मेदवारी फिर्ता लिनुस् भनेर विमल दाइ र रामसरोजजीले मनोजलाई सम्झाउनुभयो तर उहाँले कुनै हालतमा पछि नहट्ने अडान लिनुभयो,’ ती नेताले भने।
कांग्रेस जिल्ला सचिव कन्हैयालाल कर्णले पनि निधि लगायतका नेताले साहलाई फकाउन गरेको प्रयास असफल भएको बताए।
साहले वडाहरूमा सम्पर्क कार्यालय खोलेर चुनावी प्रचारमा होमिएका छन्। उनले छाप नभए पनि आफू कांग्रेसकै उम्मेदवार रहेको प्रचारप्रसार गर्दै मत माग्दैछन्।