पार्टी भित्रको असन्तुष्ट समूहलाई मिलाउन चितवन आइपुगेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल श्रेष्ठलाई भेटेका छन्।
सापकोटाको निवास बेलचोकमा पुगेर उनले भेट गरेका हुन्। भेटमा खाणले पार्टीको निर्णयलाई सहयोग गरिदिन आग्रह गरेका थिए। सापकोटा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई लिइएकोमा असन्तुष्ट छन्। सापकोटा निवासमा अर्का पुराना नेता भीमबहादुर श्रेष्ठ पनि थिए। खाणले उनीहरूलाई स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सम्झाइदिन आग्रह गरेका थिए।
कृष्णलाल सापकोटालाई भेटेपछि खाण कृष्णपुरमा रहेको मेयरका उम्मेदवार जगन्नाथ पौडेलाई भेट्दैछन्। उनले पौडेललाई उनकै निवासमा भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। पौडेललाई फकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भरतपुर आइपुगेका छन्। अहिले पौडेल निवासमा छलफल चलिरहेको छ।
पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले आग्रह गरेका छन्।
भरतपुरको मेयरमा गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ। यसप्रति असन्तुष्ट रहेको कांग्रेसको समूहको नेतृत्व गर्दै जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।